काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले आचारसंहिता विपरीत विभाग गठन भएको आरोप लगाएका छन्। काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको सोमबार साँझ बसेको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि विभाग गठन भएको भन्दै आपत्ति जनाएका हुन्।
विभाग र समिति गठनको निर्णय महाधिवेशन आचारसंहिता, राजनीतिक नैतिकता र ऐतिहासिक परम्पराविरुद्ध भएको भेलापछि प्रकाशित विज्ञप्तिमा उल्लेख छ। संस्थापन पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन्।
क्रियाशील सदस्यता वितरणलाई आफुखुसी गरिएको उनीहरुले आरोप लगाएका छन्। नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले सभापतिले वितरण गर्ने क्रियाशील वितरण ‘आउटडोर’बाट भइरहेको आरोप लगाए। संस्थापन पक्षका पछिल्लो निर्णयको विपक्षमा अधिकांश जिल्ला सभापति रहेको उनको दाबी छ।
कुनैपनि बहानामा अन्य बाटोबाट क्रियाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य नहुने बैठकले निर्णय गरेको छ। कांग्रेसमा प्रवेश गरेकै नाममा सयौं संख्यामा क्रियाशील सदस्यता पठाएर अनियमितता नगर्न सचेत बनाइएको छ।
अनुशासन समितिले गरेको कारबाही पूर्वाग्रही भएको उनीहरुको ठहर छ। ‘निष्ठावान नेता/कार्यकर्तामाथि छानीछानी कारबाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेका’ उनीहरुले निर्णयमा उल्लेख गरेका छन्।
अनुशासन समितिले तीन जनालाई शनिबार पार्टीबाट निष्कासन गरेको थियो। पार्टी संरचना गठन गर्ने क्रममा निर्वाचन समिति नीतिभन्दा नेताको प्रभावमा परेको आशंका जिल्ला सभापतिले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।