काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बस्ने स्थायी कमिटी बैठकको रणनीति बनाउन प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका छन्। भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत सहभागी रहेकाे जनाइएकाे छ।
मंगलबारको स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुको छ। यसअघि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डामा अध्यक्ष केपी ओली र प्रचण्ड सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन।
यसअघि स्थायी कमिटी बैठकमा प्रतिवेदन आउन नसकेपछि हलमै बसेर नेताहरुले सात एजेण्डा तय गरेका थिए। जसमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकमा दुई अध्यक्षको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम,एमसिसी र विविध थिए।
प्रतिवेदनमा नयाँ एजेण्डासमेत समेटेर स्थायी कमिटी बैठकबाट पारित गराउने उनीहरुको रणनीति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।