काठमाडौं-नेपाली कांग्रेसको संगठन समायोजनको कार्य अन्तिमपटक निर्धारित समयमा समेत निर्वाचन समितिले सम्पन्न गर्न सकेन। शनिबार (साउन १० ) सम्म सक्ने गरि पार्टीले निर्वाचन समितिलाई अन्तिमपटक समय थपेको थियो। यसपटक पाँचाैं पटक थपिएको समयमा समेत समायोजन नसकिएपछि महाधिवेशन कार्यतालिका पुनः परिमार्जन गरिएको थियो।
संगठन समायोजन मुख्यतः प्रदेश २ का जिल्लामा बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। साउन १० मा निर्वाचन समितिले शनिबार भएकाले आफ्नो कार्यप्रगति बुझाउन नपाएको बताइए पनि आइतबारसमेत काम नसकेको बताइएको छ। राधेश्याम अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिले आइतबार बैठक बसेर टुंगो लगाउने भनिए पनि विवादित जिल्लाको नसकिएको बताइएको छ। प्रदेश २ का ६ जिल्लासहित मुस्ताङ र सिन्धुपाल्चोकको समायोजन नसकिएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।
कतिपय जिल्लाका वडामा विवादित हुँदाहुँदै समितिले समायोजन सकिएको भनेकाेमा असन्तुष्टिसमेत रहेको छ। तर घिमिरले समायोजन सक्ने क्रममा केही विवाद देखिनु स्वाभाविक भएको बताए। प्रदेश २ बाट नामावली पठाउन असहयोग भएकाले समयमा नसकिएको उनकाे भनाइ छ। उपसभापति विमलेन्द्र निधिकै गृहजिल्ला धनुषामा समायोजनको कार्य सकिएको छैन।
जिल्ला कार्यसमितिले संगठित सदस्यको नामावली अद्यावधिक नगरेकाले नामावली पठाउन ढिलाइ भएको उल्लेख गरिएकाे छ। कतिपय जिल्लामा समूह-समूहको स्वार्थका कारणले पनि समायोजन हुन नसकेको बताइएको छ।
समायोजन सकिएका जिल्लामा असार २५ बाट क्रियाशील सदस्यता नविकरण तथा वितरणको कार्यतालिका पार्टीले बनाएको थियो।
१४ औं महाधिवेशन गर्न सहज बनाउन कांग्रेसले पुरानै कार्यसमितिलाई समायोजन गर्ने गरि संघीय प्रणाली अनुसारको संगठन बनाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।