काठमाडौं- भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ। ‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो।
सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए। उनले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ। अहिले कतिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न समेत गरेका थिए। 'प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो? अहिले अनुसन्धान कुन चरणमा पुगेको छ त्यसको विषयमा जानकारी हुनुपर्छ,' नेपाली कांग्रेसका सांसद् दिव्यमणि राजभण्डारीले भने।
कांग्रेसकै अर्का सांसद् पुष्पा भूसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभई प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताएकी थिइन्। कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरु नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागी भइरहेको उनले उल्लेख गरे। 'यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन हुँदैन। नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन खोज्दा यस्ता विषयवस्तुहरुमाथि सरकार प्रमुखले धारणा राख्नुहुँदैन,' उनले भने।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको धारणा राखेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरेका थिए। नेकपाकै सांसद सरला कुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडी बढाउनुपर्ने उल्लेख गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपालमा जन्मेका र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चाको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।