धनगढी- ७ नम्बर प्रदेश प्रदेश सरकारले आइतबार बजेट ल्याउने भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले शनिबार पत्रकार सम्मेलन गरी बजेट ल्याउन लागेको जानकारी दिए। मन्त्री बोहराले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाखको बजेट ल्याउन लागिएको बताए।
आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकको विशेष समयमा मन्त्री बोहराले बजेट पेश गर्नेछन्। यसका लागि प्रदेशसभा सचिवालयले सहमति दिइसकेको छ।
निरन्तर बजेटको आंशिक भाग मात्र ल्याउन लागेको र यसमा साधारण र विकास खर्च मात्र समेटिएको मन्त्री बोहराले जानकारी दिए। बजेटमा तत्कालीन विषयलाई समावेश गर्दै प्रदेशका बासिन्दाले तत्काल अनुभूति गर्ने खानेपानी, सडक, शिक्षा, कृषि आदि क्षेत्रका कार्यक्रम समावेश गरिएको उनको भनाइ छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को पूर्ण बजेटको तयारी पनि थालेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।