काठमाडौं– सरकारी काममा कतिसम्म लापरबाही हुन्छ भन्ने विषयको नमुना भर्खरै मात्र सार्वजनिक भएको एक सरकारी भवन निर्माणका गतिविधि नियाले पुग्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले ललितपुरको भैँसेपाटीमा निर्माण गरिरहेको भवन निर्माणस्थलको माटो नै परीक्षण नगरी भवन बनाएको रहस्य खुलेको हो।
शाखाले ७ तले भवन निर्माण गर्न ठेक्का सम्झौता भई ६० प्रतिशत रकम भुक्तानी भएपछि मात्रै भवन निर्माणस्थलको माटो परीक्षण भएको रहस्य खुलेको हो। माटो परीक्षणको रिपोर्टपछि पुनः डिजाइन नै परिर्वतनसमेत गरिएको छ। शाखाले १० करोड ५० लाख ४९ हजार लागतमा ७ तले भवन निर्माण गर्दा माटो परीक्षण विना नै भवन निमार्णका डिजाइन स्वीकृत गराएर ठेक्का सम्झौता गरेको फेला परेको हो।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६७औं वार्षिक प्रतिवेदनमा इपिएस शाखाले सात ७ तले भवन निर्माणको डिजाइन तथा ठेक्का सम्झौता गरी भवन निर्माण थालनी गर्दासम्म माटो परीक्षण नगरेको भन्दै प्रश्न उठाइएको छ। भवन निर्माण सम्झौता माटो परीक्षण विना नै ६ करोड २१ लाख ९६ हजार रुपैयाँ निकासी गरेको समेत खुलासा भएको हो। माटो परीक्षण गरेर भवनको तला घटाउने खेल शाखाले गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
‘७ तले भवन निर्माण गर्दा माटो परीक्षण नगराई भवन निर्माण सुरु गरेको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘निर्माण कार्य आधा सम्पन्न भएपछि माटो परीक्षण भएको छ। माटो परीक्षण प्रतिवेदनमा उक्त ठाउँमा ५ तलाभन्दा बढी भवन बनाउने नहुने रिपोर्ट आएको छ।’
माटो परीक्षणपछि पुनः डिजाइन नै परिर्वतन गर्ने कामसमेत भएको प्रतिवेदनमा उल्लेख छ। माटो परीक्षण नगरी डिजाइन तयार गर्ने र स्वीकृत गर्न पदाधिकारीलाई कारबाही गर्नुपर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।