काठमाडौं- पार्टी एकतामा विवादित विषय मिलाउन निरन्तर छलफल गर्ने सहमति गरेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार पनि छलफल गरेका छन्।
बालुवाटारमा भएको भेटका क्रममा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको र वार्ता सकारात्मक भएको दाहालका स्वकिय सचिव जोखबहादुर महराले जानकारी दिए। कार्यदलले पार्टी एकता संयोजन समितिलाई विवादित केही विषय बाहेक अन्यलाई समाधान गर्दै बुझाएको प्रतिवेदनमा दुई नेताबीच केही दिनयता छलफल भइरहेको छ।
पार्टी एकता संयोजन समितिको आयोजनामा आइतबार दिउँसो हुने सभामा दुवै पार्टीले गर्ने संयुक्त कार्यक्रममा दुवै शीर्ष नेताले पार्टी एकतामा प्रतिबद्दता जनाउने भएका छन्।
कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आइतबार दिउँसो करिब १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ। कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी एकताका लागि दुवै शीर्ष नेताबीच केही दिनयता निरन्तर छलफल चलिरहे पनि विवादित विषयको गाँठो फुक्न सकेको छैन।
शुक्रबार बालुवाटारमै भएको छलफलका क्रममा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनबाट आफूले नेतृत्व पाउने सुनिश्चितता हुनुपर्ने माग गरेका थिए। ओलीले भने महाधिवेशनले सबैलाई चित्त बुझाउने व्यक्ति नेतृत्वमा आउने बाटो खुला राख्नुपर्ने धारणा राखेका थिए।
दुई पार्टीबीच एकताको विषय जनयुद्ध, एकीकृत पार्टीको चुनाव चिह्न र केन्द्रीय नेताहरुको व्यवस्थापनको विषय जस्ता मतभेदमा अड्किएको छ। एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणासहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएर बहुमत हासिल गरे पनि निर्वाचन सकिएको तीन महिनासम्म एकता हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।