काठमाडौं-जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २८ वर्षपछि वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०४७/०४८ देखि आर्थिक वर्ष २०७५/०७६ सम्मको साधारणसभा एकैपटक गर्ने तयारी गरेको हो।
कम्पनीले साउन १७ गते शनिबारका लागि साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा बस्नेछ।
कम्पनीले आर्थिक वर्ष २०४७/०४८ देखि आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गर्ने र पारित गर्ने, २०४७/०४८ देखि आर्थिक वर्ष २०७५/०७६ सम्मको वार्षिक आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सानी हिसाब, नगद प्रवाह विवरणसमेत छलफल गर्ने र अनुमोदन गर्ने उद्देश्य राखिएको छ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था?
अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०७७ अनुसार कम्पनीको अधिकृत पुँजी ३ करोड ८६ लाख, जारी पुँजी ५ करोड रूपैयाँ र चुक्ता पुँजी २ करोड ७५ लाख रूपैयाँ छ।
आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीले १ करोड ९२ लाख रूपैयाँ खुद नाफा गरेको थियो। त्यस अवधिसम्मको कम्पनीको सञ्चित नाफा २८ करोड ४४ लाख रूपैयाँ छ। कम्पनीको खुद सम्पत्ति (नेट वर्थ) ३१ करोड २२ लाख रूपैयाँ बराबरको रहेको प्रतिवेदनमा जनाइएको छ।
कम्पनीले नेपाल सरकारलाई बुझाउन बाँकी साँवा ४ करोड ९३ लाख रूपैयाँ छ भने ब्याज ७ करोड ६७ लाख छ। कम्पनीले सरकारलाई ८ करोड रूपैयाँ आयकर सरकारलाई बुझाउन बाँकी छ।
संस्थानमा नेपाल सरकारको ८७.५८ प्रतिशत स्वामित्व छ भने बाँकी १२.४२ प्रतिशत शेयर स्वामित्व निजी क्षेत्रको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।