डडेल्धुरा- प्रदेश ७ का सात पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ। शुक्रबार राति ८ बजेदेखि डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, दार्चुला लगायतका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो।
डोटीको बुडरमा रहेको ३३ केभीएको टावरमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख ईश्वरकुमार श्रेष्ठले जानकारी दिए। टावरमा रुख ढल्दा बिजुलीको तार चुँडिएको हुँदा विद्युत् प्रवाहमा समस्या भएको उनको भनाइ छ।
विद्युत् सुचारु गर्न डडेल्धुरा, बैतडी र डोटीको दिपायलबाट कर्मचारीहरु खटाइएको उनले जानकारी दिए। ‘खटाइएका कर्मचारीहरु सम्बन्धित ठाउँमा पुगिसकेका छन्,’ उनले भने, ‘आज दिउँसोसम्ममा नियमित रुपमा विद्युत प्रवाह हुन्छ।’
विद्युत् सेवा अवरुद्ध हुँदा यस क्षेत्रका सञ्चामाध्यमहरु बढी प्रभावित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।