काठमाडौं- काठमाडौं महानगरपालिकाले भित्ता र पोलमा टाँसिएका पर्चा, पम्प्लेट तथा पोस्टर तत्काल हटाउन आग्रह गरेको छ।
आज एक सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका विद्युत, टेलिफोनका पोल तथा सडक किनारका पर्खाल लगायत सार्वजनिक स्थानमा कुनै पनि व्यापार व्यवसायको प्रचारप्रसार गर्ने उद्देश्यले तुल, ब्यानर, पोस्टर टाँस्ने, झुन्ड्याउने कार्य नगर्न अनुरोध गरेको हो।
यसैबीच, नयाँ शैक्षिक सत्रको भर्ना सम्बन्धी सामग्री टाँस्ने झुन्ड्याउने कार्यप्रति महानगरले आफ्नो ध्यानकर्षण भएको जनाएको छ। तत्काल ती सामग्री हटाउन अनुरोध गर्दै महानगरले अटेर गरे फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
उक्त ऐन तथा नियमावली अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा तीन महिना जेल सजाय वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।