काठमाडौं- राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७६/०७७ मा राजस्व छली र विदेशी विनिमय अपचलनका करिब १६ अर्ब रूपैयाँको मुद्दा दायर गरेको छ। विभागले साढे १५ अर्ब रूपैयाँको राजस्व छली र करिब ५० करोडको विदेशी विनिमय अपचलनका मुद्दा दायर गरेको हो।
लामो समय निश्क्रिय जस्तै रहेको विभाग पछिल्लो दुई वर्षयता निकै सक्रिय छ। आर्थिक वर्षको अन्त्य अर्थात् असारको अन्तिम साता मात्रै विभागले ७ अर्ब रूपैयाँको मुद्दा दायर गरेको छ। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन संशोधन भएसँगै अहिले विभागले उच्च अदालतमा मुद्दा दायर गर्न थालेको छ।
'हामीले कुनै टार्गेट पुर्याउन होइन, नियमित प्रक्रियाअनुसार नै मुद्दा लैजाने गरेका छौँ,' विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, 'हाम्रो अनुसन्धान र मुद्दा दायर गर्ने आफ्नै प्रक्रिया र पद्धति हुन्छन्, त्यसैअनुसार मुद्दा लैजानुपर्ने हुन्छ।' विभागले अनुसन्धान अधिकृत तोकेको बढिमा ९ महिनाभित्रमा अदालतमा मुद्दा लगिसक्नुपर्छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली। तस्बिर- निमेशजंग राईमैनाली महानिर्देशक भएयता मूल्य अभिवृद्धि करको नक्कली बिजक बनाउने र त्यसैअनुसार कारोबार गर्नेमाथि अनुसन्धान अघि बढाएका छन्। 'अहिले ठूलो रकमको मुद्दा गएका कारण कुनै लक्ष्य पुर्याउन मुद्दा लगेको छ कि जस्तो लागेको हुन सक्छ,' उनले भने, 'हामी रकम कति छ भन्ने हेर्दैनौँ, अनुसन्धानबाट जे देखिन्छ त्यसैअनुसार कारबाही अघि बढाउने हो।'
विभागले मूल्य अभिवृद्धि करको नक्कली बिजक बनाउने, कारोबार लुकाउने र राजस्व अपचलन गर्नेमाथि थप अनुसन्धानको तयारीसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।