काठमाडौं-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछिको पहिलो कारोबार दिनमा पुँजी बजार सूचकमा उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६ प्रतिशतभन्दा धेरैले बढेपछि बजार बन्द भएको छ।
कारोबार सुरु भएको पहिलो ६ मिनेटभित्रमा नै ४ प्रतिशतले बजार बढेपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो। तर पहिलो सर्किट लागेर बजार खुलेको २ मिनेटमा नै बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि दोस्रो सर्किट ब्रेक लगाइयो।
दोस्रो सर्किटपछि पनि बजार बढ्ने क्रम नरोकिएपछि १२ बजेर ८ मिनेटमा बजार बन्द भएको छ। शेयर बजारमा करिब ८ मिनेटमात्रै कारोबार भएको थियो। यो अवधिमा बजार ८४.२६ अंकले बढेर १४७९.०३ अंकमा बन्द भएको छ।
शेयर बजारमा १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता शेयर ६ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ। ६६२ कारोबारबाट यो परिमाणको कारोबार भएको हो।
कारोबार अवधिभरमा म्युचुअल फण्ड उपसूहको सूचक ०.०४ प्रतिशतले घटेको छ भने बाँकी सबै सूचक बढेका छन्। सबैभन्दा धेरै वृद्धि वाणिज्य बैंक समूहमा देखिएको छ। यो समूहको सूचक ७.४४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको व्यवस्था केही खुकुलो गरेको छ भने ब्याजदर घट्ने गरी मौद्रिक नीति ल्याएको छ। चालु वर्षको मौद्रिक नीतिले थलिएको अर्थतन्त्र उकास्न सक्ने आँकलनसँगै लगानीकर्ताको मनोबल बढ्दा त्यसको प्रभाव शेयर बजारमा देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।