रत्ननगर- चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ।
बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ शुक्रबार मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए।
रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि सय मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो। शरीरभरि घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उनले अर्को बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताए।
यसअघि बिहीबार उसले एउटा बँदेल समेत मारेर खाएको थियो। मरेको बाघको नमुना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिए।
अरु नै कारण भए परीक्षणपछि मात्र यकिन हुने उनको भनाइ छ। पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो। यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो। चैत र बैसाख मात्रै चितवनमा तीन वटा बाघ मरिसकेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।