काठमाडौं- नेपालले विश्व बैंकसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। विश्व बैंकले रणनीतिक सडक सञ्जाल सुधार र व्यापार सहजीकरण आयोजनाका लागि ५४ अर्ब रुपैयाँ (४५० मिलियन अमेरिकी डलर) दिने सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
यो आयोजना विश्व बैंक र नेपालबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले यी आयोजना कार्यान्वयनबाट नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए। खतिवडाले पूर्व-पश्चिम राजमार्ग नेपालको 'लाइफ लनइन' भएको भन्दै त्यसको विस्तार सरकारको प्राथमिकताको विषय भएको उल्लेख गरे। खतिवडाले कार्यक्षमता विस्तार गरी लक्ष्यअनुसार उपलब्धि हासिल गर्दै जाने पनि बताए। व्यापार सहजीकरण र क्षेत्रीय सडक सञ्जाल विस्तार सरकारको सधैंको प्राथमिकता हुने गरेको भन्दै खतिवडाले सडक सुरक्षालाई पनि सँगसँगै ध्यान दिइनुपर्ने उल्लेख गरे।
ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थसचिव ढुंगानाले यो सम्झौता महत्त्वपूर्ण, ऐतिहासिक र रणनीतिक भएको बताए। 'प्रस्तावित आयोजनाले उत्पादकत्व वृद्धि गर्नुका साथै व्यापारको लागत र समय घटाउनेमा म विश्वस्त छु,' उनले भने।
विश्व बैंक बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले नेपाल र विश्व बैंकको सहकार्यमा यो महत्त्वपूर्ण फड्को भएको बताए। उनले नेपालको व्यापार सहजीकरण, क्षेत्रीय सडक सञ्जाल विस्तार र त्यसको सञ्चालनमा स्रोतको अन्तर भएको भन्दै विश्व बैंकको सहायताले त्यो अन्तर पूर्ति गर्न सहयोग गर्ने उल्लेख गरे।
थानकोट-मुंग्लिन र कञ्चनपुर-ढल्केबर-पथलैया सडक सुधार कार्यक्रम र व्यापार सहजीकरण आयोजनामा यो रकम परिचालन हुने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।