फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। सात दिनलाई स्थगित गरिएकाे बैठक आज बस्न लागेकाे हाे। पार्टीमा देखिएकाे विवाद समाधान हुन नसक्दा यसअघिका बैठक लगातार स्थगित हुँदै आएका छन्।
गत शुक्रबारका लागि तय भएकाे बैठक आज बिहानसम्मका लागि स्थगित भएकाे थियाे।
बाढी पहिराेका कारण जनधनको ठूलो क्षति भएकाे र सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीकाे तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरेकाे नेकपाले जनाएकाे थियाे।
यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएका छन्। तर सहमति भने बनिसकेकाे छैन।
यस्तै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पनि छलफल भएकाे छ। बिहीबार दाहाल र नेपाल समूहकाे भेलाले पार्टीभित्रको विवाद समाधान गर्न एक महिनाभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेकाे छ।
नेकपाको पाँचौं स्थायी कमिटी बैठक असार १० गतेबाट सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।