काठमाडौं- मन्त्रिपरिषदको बैठकले नेपालभरिका विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुयान तथा मनोरञ्जनात्मक वायुसेवाहरूलाई लकडाउन खुलेको १ महिनासम्म विसान शुल्कमा (पार्किङ फी)मा ७५ प्रतिशतले छुट दिने निर्णय गरेको छ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड-१९ का कारण अप्ठ्यारो परिस्थितिमा वायु सेवा कम्पनीहरू तथा विमानस्थल परिसरमा संचालित व्यवसायसमेतलाई गत चैत १ गतेदेखि लकडाउन खुलेको एक महिनासम्म पार्किङ फीमा यस्तो छुट दिने निर्णय गरेको हो।
साथै आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विमान कम्पनीले भाडामा लिएका कोठा, सञ्चालित पसल/कवल, रेस्टुरा/लाउन्ज, बैंक/मनी एक्सचेञ्ज सवारी पार्किङलगायतका सेवा दिइरहेका फर्महरुलाई गत चैत १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ एक महिनासम्म कोठा/स्थान बहालमा ७५ (पचहत्तर) प्रतिशतका दरले छुट दिने र सो अवधिसम्म त्यस्ता फर्महरुलाई जारी हुने बिलमा विलम्ब शुल्क नलिने निर्णय समेत गरिएको छ।
मन्त्रिपरिषदले विमानस्थल सेवा शुल्क नियमावली, २०६७ बमोजिम नियमित रुपमा बुझाउनुपर्ने विमानस्थल शुल्कहरु भुक्तानी गर्ने अवधि सन् २०२० को डिसेम्बर ३१ सम्म कायम गरी सो अवधिभित्र बुझाएमा विलम्ब शुल्क नलिने निर्णयसमेत गरेको छ।
त्यस्तै वायुसेवा सञ्चालन अनुमतिपत्र नवीकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० (पचास) प्रतिशत छुट दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।