काठमाडौं- सर्वोच्च अदालतले काठमाडौंको बुढानीलकण्ठमा मदिरा सेवन गरेर गाडी चलाई ठक्कर दिएर पैदल यात्रुको ज्यान लिने कार चालक पृथ्वी मल्ललाई धरौटीमा छाडेको छ।
न्यायाधीश सपना प्रधानमल्ल र मनोजकुमार शर्माको इजलाशले मल्ललाई धरौटीमा छाड्ने आदेश दिएको हो। काठमाडौं जिल्ला अदालतले पुस २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
जिल्लाले थुनामा पठाएपछि मल्ल उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए। २०७६ मंसिर २८ गते बिहान मन्दिर दर्शन गरेर फर्किरहेकी गोर्खाकी लिला देवकोटालाई बुढानिलकण्ठमा मल्लले चलाएको कारले ठक्कर दिएको थियो।
देवकोटालाई तत्कालै अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको थियो। रातभर ठमेलमा मदिरा सेवन गरेका २१ वर्षीय मल्ल बिहानीपख शिवपुरी पुगेर फर्कने क्रममा उनले चलाएको निजी कारले अनियन्त्रित भई पैदल यात्रु देवकोटालाई ठक्कर दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।