• भारत भनेर चिनिने उसको एउटा प्रतीक चिह्न छ। अशोकाले स्थापना गरेको चिह्न छ। चारमुखे सिंह छ। त्यसको मुनि 'सत्यमेव जयते' लेखेको हुन्छ। यो कुरा उसको चिह्नमुनि छ तर विश्वासचाहिँ म गर्छु। म भारतलाई सोध्नेवाला छु-सत्यमेव जयते कि सिंह जयते? सिंहमेव जयते कि सत्यमेव जयते? (संसद, २०७७ जेठ ६)
• १४६ वर्ष उपभोग गरेको जमिन ५८ वर्षदेखि खोसिएको छ, त्यो फिर्ता ल्याउन हामीले खोज्यौं। हाम्रो जमिन फिर्ता ल्याउन खोज्यौं। अरुको जमिनमा दाबी गरेको होइन, अतिक्रमण र हस्तक्षप गरेको होइन। त्यसकारण, हामीले कुनै गल्ती गरेको छैनौं। तर, नेपालकै नेताहरु लागेका छन्, बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन।
संविधान संशोधन भयो। नक्सा जारी भयो। यस्तो अपराध गर्ने केपी ओलीलाई अब, भित्रभित्रको कुरा हो त्यो, बाहिरबाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यम सन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ-कहाँ के-के भइरहेको छ। यहाँका होटलहरुमा भइरहेका गतिविधिहरु, त्यसले पनि बताइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ। (मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रम, बालुवाटार, २०७७ असार १४)
• हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। मिचिएका छौं। तथ्यहरुमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौं, हामीले सीता भारतका राजकुमार रामलाई दियौं। भारतकालाई होइन, अयोध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगंजभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। (भानु जयन्तीका अवसर आयोजित कार्यक्रम, बालुवाटार, २०७७ असार २९)
० ० ०
पछिल्ला दुई महिनामा प्रधानमन्त्रीले भारतलाई जोडेर माथिका तीनवटा सार्वजनिक अभिव्यक्ति दिए। उल्लेखित तीनवटै अभिव्यक्तिले नेपाल र भारतको राजनीतिक वृत्तसँगै सञ्चार माध्यममा प्रशस्तै चर्चा पाए। चर्चा अद्यपि छ।
पछिल्लो अभिव्यक्तिमा त उनले नेपाल तथा भारतका ठूलो संख्याका नेपालीहरुको आस्था जोडिएको विषयमा बोलेका थिए। प्रधानमन्त्रीकै तहबाट सार्वजनिक धारणा भएका कारण यो विषय नेपाल सरकारकै धारणाको रुपमा व्याख्या हुनु स्वाभाविक थियो।विषयको संवेदनशीलतालाई बुझेर नै हुनुपर्छ, उनको अभिव्यक्तिमाथि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिँदै विज्ञप्ति नै जारी गर्नुपर्यो। मंगलबार जारी विज्ञप्तिमा उसले भनेको छ- प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक र कसैको भावनामा ठेस पुर्याउन होइन।'
ओलीका केही सीमित समर्थक, जसले उनका जस्तासुकै अभिव्यक्तिको पनि बचाउ गर्ने गरेका छन्, उनीहरु बाहेक अन्यले उनको अभिव्यक्तिको आलोचना गरेका छन्। उनीहरुले नेपाल र भारतबीचको जनस्तरकै सम्बन्ध पनि बिगार्न सक्ने चेतावनी दिए।
प्रधानमन्त्रीका अभिव्यक्तिले भारतसँगको सामाजिक-सांस्कृतिक सम्बन्धलाई पनि खलल पार्न सक्ने परराष्ट्र मामलाका जानकार डा उद्धव प्याकुरेल बताउँछन्। नेपाल र भारतको राज्य-राज्य स्तरमा समस्या आउँदा पनि नेपालको पक्षमा बोलिदिने समुदायलाई पनि पर पुर्याउने काम प्रधानमन्त्रीले गरिरहेको उनको भनाइ छ। राज्य तहमा सम्बन्ध बिग्रिएका बेला जनस्तरको सम्बन्ध भएकै कारण समस्या समाधानमा सहयोग पुग्ने गरेको उदाहरण दिँदै उनले भने- 'भोलि केही गरी राज्य-राज्यबीच सम्बन्ध बिग्रियो भने हामीलाई साथ दिने मान्छे कम हुनसक्छन्।'
ओलीले भारतसँग जोडेर विवादित अभिव्यक्ति किन दिइरहेका छन् त? उनको निकट विगत, अहिले पार्टीभित्र उनको अवस्था, नेताको रुपमा आफ्नो निश्चित छवि कायम होस् भन्ने चाहना, राष्ट्रवादका विषयबाट छिट्टै प्रभावित भइहाल्ने नेपाली स्वभाव जस्ता विषयलाई जोडेर हेरियो भने उनका अभिव्यक्तिको अन्तर्य केलाउन सहज हुन्छ।
भारत: अनेक अवसर
नेपाली नेताहरुका निम्ति भारत एउटा अवसर पनि हो। भारतसँग निकट सम्बन्ध बनाएर नेपालको राजनीतिको खेलाडी बनेका कैयौं पात्रहरु छन्। उससँगको सम्बन्ध बिग्रिँदा यता राष्ट्रवादी नेताका रुपमा उदाएका उदाहरण पनि उत्तिकै छन्। प्रधानमन्त्री ओलीको विगत पल्टाउने हो भने उनले यी दुवै अवस्थाको भोग गरेका छन्।
संविधान निर्माणको निर्णायक चरण सुरु हुनुअघि ओलीलाई भारतसँग निकट सम्बन्ध भएका नेताकै रुपमा चित्रित गरिन्थ्यो। महाकाली सन्धिताका त उनलाई उनकै कार्यकर्ताले समेत ‘लेन्डुप दोर्जे’ भन्दै नारा लगाएर भारतको हित रक्षा गर्न सक्रिय नेपाली नेताकै लहरमा उभ्याइदिएका थिए।
दशकौंसम्म महाकालीमा धेरै पानी बगिसक्यो। ओलीमा पनि धेरै हेरफेर आइसक्यो। यतिखेर उनी भारतलाई चिढ्याएर आफ्नो पद रक्षा गर्ने घुमाउरो बाटो हिँडिरहेका छन्।
पहिलो पटक प्रधानमन्त्रीमा उनको स्वीकार्यता भारतविरोधी छविकै कारण हो। संविधान निर्माणले गति लिँदै गर्दा उनले भारतविरोधी अभिव्यक्ति दिन सुरु गरेका थिए। संविधानको प्राप्तिमा खुसी मनाइरहेको ठूलो समूहले उनको अभिव्यक्तिलाई जायज ठहर्यायो। उसै पनि आफ्नो संविधान आफैं लेख्ने जस्तो सार्वभौमिकता जोडिएको विषयमा भारतको हस्तक्षेपकारी भूमिकाको प्रतिवाद गर्ने नेताको खोजी चलिरहेकै थियो। ओलीले त्यो अवसरको राम्रै सदूपयोग गरे।
तर भारतसँग सम्बन्ध बिगारेरै अघि बढ्ने वा सुधारको प्रयास गर्नेमा उनमा स्पष्टता थिएन। त्यसैले आफ्नो सत्तारोहण हुने परिस्थिति निश्चित हुँदै जाँदा उनले भारत र चीन दुवैतर्फ आफ्ना दूत पठाएका थिए। यसको अभिप्राय संविधान निर्माणको तीतोपीरो बिर्सेर अघि बढ्ने थियो। संविधान जारी हुनुभन्दा केही दिनअघि (२०७२ भदौ २९) मा ओलीका दूत बनेर भारत गएका अहिलेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ओलीले खोजेजस्तो वातावरण बनाउन भने सकेनन्।
संविधान जारी भएको तीन हप्तापछि प्रधानमन्त्री बनेका ओलीले सुरुवातमा भारतसँगको सम्बन्ध सुधारमै जोड दिए। नेपालमा जारी मधेस आन्दोलनलाई मत्थर पार्न उनले भारतीय सत्तासँग संवादको पहल गरे र तत्कालीन परराष्ट्रमन्त्री कमल थापालाई पटकपटक भारत भ्रमणमा पठाए। तर उनका प्रयास सफल भएनन्। आन्तरिक समस्या समाधान गर्न नसकिरहेका बेला भारतीय नाकाबन्दी उनका लागि अवसर बनेर आयो। जसमा टेकेर उनले एकसाथ भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्न पनि पाए, अनी राष्ट्रवादी नेताको छवि बनाउने अवसर पनि पाए। भारतविरुद्ध चर्का शब्द प्रयोग गरेर आत्मरती लिन खोज्नेलाई त ओली ‘ढुंगा खोज्दा देउता मिले’ झैं भइदिए नै।
ओलीको पहिलो कार्यकालमा नाकाबन्दीका कारण अभाव र अप्ठ्यारो बढ्दै गए नेपालमा ओलीविरुद्ध जनमत पनि बढ्दै जान्छ भन्ने भारतको गलत मूल्यांकनको फाइदा उनलाई नै पुग्यो। मधेसको भूभाग त आन्दोलनमय थियो, बाँकी भूभागले सरकारलाई नै साथ दिइरह्यो। गुनासो गरे पनि सरकारप्रति आक्रोशित भएन।
त्यसपछि निरन्तर रहेको ओलीको भारतविरोधी छवि अद्यपि कायम छ।
पहिलो पटक सत्ता छाड्नुपर्दा पनि उनले आफूलाई हटाउन बाह्य शक्ति (भारत) को भूमिका रहेको ठूलो समूहलाई विश्वस्त तुल्याउन सफल भएका थिए। उनी प्रधानमन्त्रीबाट हट्ने निश्चित भएपछि उनको फोटो अंकित टिसर्टधारीले राष्ट्रिय झन्डासहित प्रदर्शन गरेको थियो। प्रधानमन्त्रीबाट नहट्न सडकबाटै आग्रह गरेको थियो। त्यो समूहले ओलीपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत निकट देखाउन कुनै कसर बाँकी छाडेन। उनी प्रधानमन्त्री भएको सय दिनमा त ‘लम्पसारका १०० दिन’ भन्ने ह्यासट्याग नै चलाइएको थियो।
सरकारबाट हटेपछि पनि ओलीले आफ्नो राष्ट्रवादी छविमा आँच पुग्न दिएनन्। उनको गालीको केन्द्रमा थिए- भारत र मधेस केन्द्रित दलका नेता। संविधान संशोधनको कुरा उठाइरहेका मधेसकेन्द्रित पार्टीहरुलाई उनले भारतले अह्राएको, भारतले नन्दी भृंगी जसरी उफारेको समेत भन्न भ्याए। ‘छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संशोधन हुँदैन’, २०७३ असोज ३ मा संविधान दिवसका अवसरमा युवा संघ नेपाल भक्तपुर २ नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको शुभकामना एवं कार्यकर्ता भेलामा उनले भनेका थिए।
'एकातिर संविधान निर्माण, चुनावमा दुई पार्टीको सहकार्य र पार्टी एकीकरणदेखि यता ओलीका निम्ति चीनको भूमिका सहयोगी रह्यो। अर्कोतिर, बलमिच्याइँ र हस्तक्षेपका कारण नेपालमा भारतको विरोध जुनसुकै बेला पनि बिक्ने विषय हो। ओलीले पनि महेन्द्रदेखिको भारतविरोधी राष्ट्रवादको झन्डा उचालेर जीत हासिल गर्दै आएका छन्। देङ र सि जिनपिङकै विचार राजनीतिमात्रै हैन, विकासको न्यारेटिभ बोकेर ठूल्ठूला संरचना निर्माण गर्ने खालको हवाई कुरा गरे। जसले गर्दा राष्ट्रवादी नेताको रुपमा ओलीको उदय सम्भव भयो', लेखक राजेन्द्र महर्जन भन्छन्।
सत्ता संकट टार्ने उपाय
प्रधानमन्त्री ओलीले असार १४ गते भारतलाई जोडेर अभिव्यक्ति दिँदै गर्दा नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो। गत वैशाखमा अध्यादेश जारी गरेदेखि पार्टीभित्र उनको राजीनामा माग भइरहेको थियो। उनको राजीनामा माग्ने नेताहरुले नै स्थायी कमिटी बैठक बोलाउनुपर्ने आवाज पनि उठाइरहेका थिए। त्यसैले जारी बैठकमा आफ्नो राजीनामा माग हुने कुरामा उनलाई शंकै थिएन। त्यसैले उनले भारतको इशारामा आफ्नो राजीनामा माग्न थालिएको भनेर स्थापित गराउने प्रयत्न गरे। प्रधानमन्त्रीबाट हट्नुपर्ने भयले उनले आफ्नै सहयोद्धाहरुलाई भारतीय मतियारको रुपमा स्थापित गराउन खोजे।
प्रधानमन्त्री र पार्टी अध्यक्षको रुपमा ओली अनेक अप्ठ्यारामा छन्। शक्तिशाली पार्टी कमिटीमा उनको राजीनामाको विषय उठिरहेको छ। वरिष्ठ नेताहरु खुल्लमखुल्ला उनको राजीनामा मागिरहेका छन्। यस्तो बेलामा उनीसँग केही स्वभाविक विकल्प हुनसक्थ्यो। पहिलो, पार्टीपंक्तिको विश्वास जितेर आफ्नो औचित्य थप पुष्टि गर्ने। दोस्रो, पार्टीभित्रको परिवर्तित शक्ति संरचनालाई ख्याल गरेर सोही अनुसार शक्ति बाँडफाँट गर्ने। तेस्रो, पार्टी कमिटीले आफ्नो सन्दर्भमा जस्तो निर्णय गर्छ, त्यसलाई स्वीकार गर्ने। तर, उनी त्यतातिर लागेनन्। बरु राष्ट्रवाद बेच्न थाले।
भारतसँगका समस्या समाधानका रचनात्मक उपाय पत्ता लगाउन नसक्ने बरु आफूलाई कट्टर भारतविरोधी देखाएर जनमत बटुल्ने पुरानै तरिका उनले अहिले पनि अपनाइरहेका छन्। भारतसँग संवाद गर्नेभन्दा गाली गर्ने नेताको लोकप्रियता उँचो रहने यथार्थ ओलीलाई थाहा नहुने कुरै छैन। अहिले पनि सडकमा ओलीको पक्षमा नारा जुलुस सुरु भएका छन्। यो नाराजुलुस विगतकै अभ्यासको पुनःप्रयोग हो।
'आन्तरिक संकट गहिरिएको बेला धूर्त नेताहरुले राष्ट्रवादलाई हतियारको रुपमा प्रयोग गर्छन्। परिवारदेखि पार्टीसम्म समाजदेखि राज्य र देशमा संकट आउँदा भित्र वा बाहिरका काल्पनिक शत्रुतिर ध्यान मोडिन्छ', महर्जन भन्छन्, 'बहुदलीय प्रजातन्त्रको हत्या गर्ने महेन्द्र र वीरेन्द्रले भारतविरोधी राष्ट्रवादकै नारामा आन्तरिक संकटको नक्कली समाधान गरेरै जनतालाई झुक्याए। उनीहरुको 'राष्ट्र' भनेकै हिन्दू धर्म र संस्कृति मान्नेहरु, पहाडीहरु, खस नेपाली भाषा बोल्नेहरु, वीर नेपाली इतिहासको गुनगान गाउनेहरु मात्र थिए। त्यसभन्दा परका नेपालीलाई परायाकरण गर्ने वा विदेशी वा शत्रु देख्ने काम जारी छ, ओलीमार्फत् पनि।'
भारतले उनलाई हटाउने चाह राखेको छैन भनेर भन्न सकिँदैन। तर, उनीमाथि संकट निम्तिनुको मुख्य कारण भारत होइन, उनको कार्यशैली र पार्टीभित्रको शक्ति संरचना भएको उनकै पार्टीका नेताहरुले बताइरहेका छन्। उसै पनि परिवर्तनका लागि आन्तरिक कारण मुख्य र बाह्य कारण सहयोगी मात्रै हुन्छ भन्ने विचारधारा बोक्ने पार्टी हो, नेकपा। त्यसैले प्रधानमन्त्रीले पनि पहिले आन्तरिक कारण खोतल्नुपर्ने हो।
प्रधानमन्त्रीको रुपमा ओलीले गलत कामहरु गरेको र त्यसले पार्टीको जनमत ध्वस्त पारेको नेकपाकै वरिष्ठ नेता झलनाथ खनालको भनाइ छ। ‘ओलीलाई पाँचै वर्ष पदमा रहिरहन दियौं भने हामी ‘रुट आउट’ हुँदैछौं। हाम्रो जनमत समाप्त हुँदैछ। विगतमा हामीले प्राप्त गरेको जनमत यो अढाइ वर्षमा आधाले खुम्चिसकेको छ’, सहाना प्रधान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सोमबार खनालले भनेका थिए, ‘अहिले हामीसँग भएको दुई तिहाइ मत त वर्तमान सरकारले खाई नै सक्यो। फेरि दुई तिहाइको हामी कल्पना गर्न सक्दैनौं।’
प्रधानमन्त्रीले प्रतिपक्षमा रहँदा गरेका भाषण, चुनावी भाषण, प्रधानमन्त्रीका रुपमा गरेको वाचा अनुसारको डेलिभरी दिन भने सकेका छैनन् र त्यसले पार्टीलाई क्षति पुर्याइरहेको खनालको अभिव्यक्ति पनि स्पष्ट गर्छ।
'उहाँले विकासका नाममा जे-जे गर्छु भन्नुभएको थियो, ती कुनैले पनि काम गरेनन्। सुशासनका कुरा हराए। भ्रष्टाचारका विषयमा उहाँ बोल्नुभयो भने जनता हाँस्छन्। अहिले जनतालाई दिने कुरा केही छैनन्, उहाँसँग। यस्तो भइरहँदा प्रजातान्त्रिक तरिकाले सत्तामा बसिरहन सक्दिनँ भन्ने उहाँलाई लागेको छ', प्याकुरेल भन्छन्, 'भारतलाई उत्तेजित बनाएपछि उसले 'रिएक्ट' गर्छ। त्यसको आधारमा पुनः मेरो राष्ट्रवाद फैलिन्छ कि भन्ने उहाँलाई लागेको छ।'
भारत जोडेर प्रधानमन्त्रीले निरन्तर दिएको अभिव्यक्ति उनको लहड वा अर्धसूचनाको परिणामभन्दा पनि आफ्नो पद जोगिने र नजोगिँदा पनि आफू षडयन्त्रको शिकार भएको देखाउन सकिने सचेत प्रयत्न जस्तो देखिन्छ। आफूले राष्ट्रवादी काम गरिरहेको, भारतले त्यसलाई असफल पार्न खोजेको तर नसकेपछि आफूलाई नै हटाउन खोजेको भन्ने स्थापित गर्ने उनको प्रयास होइन भन्ने आधार छैन।
'उहाँ सचेत ढंगले त्यस्तो कुरा उठाइरहनुभएको छ', स्थायी कमिटी सदस्य मातृका यादव भन्छन्, 'एउटै कारणले उहाँमा त्यस्तो कुरा आउँछ। उहाँलाई एउटा भूत सवार छ। मलाई हटाउँछन् कि भन्ने डर छ। उहाँलाई सायद लागेको छ- मैले नै यो देश बनाउने हो। नेपालमा अरु कोही छैन।'
छवि निर्माणको प्रयत्न
मानिसलाई आफ्नो छवि निश्चित प्रकारले स्थापित होस् भन्ने चाहना हुन्छ। ओलीमा पनि पक्कै त्यो छ। उनका अभिव्यक्ति र व्यवहारलाई केलाउँदा उनमा मुख्यतः दुई चाहना भेटिन्छ। पहिलो, नेपालीको विकासप्रतिको चाहनालाई पूरा गर्ने नेता। दोस्रो, राष्ट्रवादी नेता।
नेपालीको मुर्छित सपनालाई ब्युँताएको भनेर ओलीले नै पटकपटक दाबी गर्दै आएका छन्। यो देश विकास हुन्छ,विकास नहुनुपर्ने कुनै कारण छैन भन्दै उनले प्रधानमन्त्रीको रुपमा महिनौं गुजारिसकेका छन्। उनैले अघि सारेका र ब्युँताएका भनिएका योजना अहिले कहाँ छन् त? रेलले सामान ओसार्ने, नेपाली झन्डावाल पानीजहाजले सामान ओसार्ने र पानीजहाज चढेरै कलकत्ता जाने, हावाबाट बिजुली निकाल्ने, पाइपबाट घरघरमा ग्यास पुर्याउने, देशभित्र चुच्चेरेल र मोनोरेल चलाउने, देशभित्रै पेट्रोल उत्खनन जस्ता योजना उनले आफ्नै मुखबाट पटकपटक दोहोर्याएका हुन्। २०७५ पुस १६ देखि पानीजहाज चढेर कोलाकाता जान त उनले निम्ता नै दिएका थिए।
विकासमा उनको तरिका चीनको जस्तो भएको लेखक महर्जन बताउँछन्। 'ओलीले पनि चीनकै तरिका अपनाउन खोजे। लोकतन्त्र र मानवअधिकारमा बन्देज लगाउँदै चीनमा जस्तो ठूल्ठूला संरचना बनाउने उनको चाहना देखिन्छ', उनको भनाई छ।
आफ्ना अनेक कल्पनालाई नेपालीको सपना भन्दै त्यसलाई पूरा गर्ने र यो देशको मुहार फेर्ने नेताको रुपमा आफूलाई चित्रित गर्ने ओलीको अभिप्राय छिपेको छैन। तर झन्डै अढाई वर्षको अवधिमा सफलता होइन, उल्टो चिडचिडाहट बढेको देख्न सकिन्छ।
विकासमा चीनबाट प्रभावित भएजस्तो देखिने ओली राष्ट्रवादको प्रयोगमा भने मोदीसँग मिल्दाजुल्दा देखिन्छन्। त्यसका लागि उनले नेपालभित्रकै निश्चित समुदायप्रति आक्षेप लगाउने र भारतलाई शत्रु करार गर्ने तरिका अपनाइरहेको देखिन्छ। एउटै भाषा, एउटै भेषलाई केन्द्रमा राखेर महेन्द्रले 'सफल' प्रयोग गरेको राष्ट्रवादी मोडल उनले पनि दोहोर्याउन खोजेजस्तो देखिन्छ।
ओलीले राष्ट्रवादी देखिने प्रयत्नमा धार्मिक विषयको सहारा लिने गरेका प्रशस्तै सन्दर्भ भेटाउन सकिन्छ। जनता सहजै उत्तेजित हुने तर सहजै छिनोफानो नहुने विषयमा अभिव्यक्ति दिने तरिका कम्युनिष्ट प्रधानमन्त्रीले नै अपनाउनु अनौठो भने छ।
केपी ओलीले आफ्नो अभिव्यक्तिमा धार्मिक विषय र प्रतीक प्रयोग गर्नुचाहिँ 'लाल सलाम'बाट 'जय श्रीराम' सम्मको आध्यात्मिक यात्राको परिणाम भएको महर्जनको तर्क छ। 'एक ऐतिहासिक भौतिकवादी वा द्वन्द्ववादी वा मार्क्सवादी मात्र भएर नपुगेर लेनिनवाद र माओवादी वा नक्सलवादी बनेका नेता कसरी हिन्दू राष्ट्रवादी बन्न सक्छन्, त्यसको ज्वलन्त उदाहरण हुन् ओली। मनमस्तिष्कभित्र लुकेर बसेको ब्राम्हणवादले ऐनमौकामामा टाउको उठाएको छ र उनीहरु कुनै पनि रुपरंगमा मार्क्सवादीको रुपमा नफेरिएको तथ्य देखिएको छ', उनको भनाई छ।
त्यसो त, नेपालमा कम्युनिस्ट र गैरकम्युनिस्टमा खासै फरक पाइँदैन। केही नेताहरुले शास्त्रार्थमा फरक दिलाउने प्रयत्न गरे पनि पार्टीहरुबीच अन्तर पाइँदैन, सरकारका कार्यक्रमहरुमा खासै फरक पाइँदैन। प्याकुरेलको भनाईमा प्रधानमन्त्री लगायत कम्युनिस्ट भनिएका नेताहरुको आइडियोलोजी भारतीय जनता पार्टी (बिजेपी)को भन्दा फरक छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।