काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले फागुन ७ गतेदेखि हुने पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन्। समृद्धि अभियान सञ्चालन गर्न नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताए।
चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान कांग्रेसले पूरा गर्ने विश्वासका साथ महाधिवेशनमा लाग्न नेता कार्यकर्तासँग आग्रह गरे। ‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’
कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेको सिंहको आरोप थियो। कोरोना परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानबिन गरिरहेको उनले बताए। उनले भने, 'कोरोना भएको यतिका भइसक्यो, सरकारले जनताको भलाइका लागि सिन्को भाँच्न सकेन।' चीनबाट ल्याएका मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गरेर सरकारले नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको सिंहको भनाइ छ।
‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ,’ उनले भने, ‘हाम्रो राजनीति हामीले गर्ने हो। नेपाली जनताले गर्ने हो। विदेशीहरु आएर हस्तक्षेप गरेका कुरालाई यो सरकारले प्रोत्साहन गरेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।