काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वीस बैंकमा खाता नभएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। थापाले प्रेस नाेट जारी गर्दै ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियतका साथ प्रकाशित भएको बताएका हुन्।
''ग्लाेबल वाच एनालाइसिस'काे हवाला दिँदै केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ', थापाले भनेका छन्, 'स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु। जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ।'
थापाले राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्ध गरेका कारण प्रधानमन्त्रीमाथि सुनियाेजित षडयन्त्र भएकाे दावी गरेका छन्।
ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।