काठमाडौं– गृहमन्त्रालयले हालै काठमाडौंका विभिन्न क्षेत्रलाई आन्दोलनका लागि निषेधित क्षेत्र तोकिएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। उसले सो सम्बन्धमा सरकारी निर्णय संविधान र लोकतन्त्रको मर्म विपरीत भएको समेत जनाएको छ।
'नेपालको संविधानको धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको विरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरीत छ,' विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित समेत तुल्याएको छl'
सरकारको निर्णयले शान्तिपूर्ण रुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्नेगरी लगभग पूरै सहरलाई ‘निषेधित क्षेत्र’का रूपमा अर्थ्याएको विवेकशील साझाले प्रतिक्रिया दिएको छ।
'प्रधानमन्त्रीले नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा राराबाट गरेको आफ्नो सम्बोधनमार्फत लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घन्टा बित्दा नबित्दै आएको यस निर्णयले सरकारको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
पछिल्लो समयमा कयौं भद्र आन्दोलनहरुको प्रतीक बनेको माइतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्नेगरी आएको निर्णयलाई अविलम्ब फिर्ता लिन विवेकशील साझाले आग्रह गरेको छ।
गृहमन्त्रालयले वैशाख १६ देखि लागू हुनेगरी सार्वजनिक कार्यक्रम तथा प्रदर्शन खुलामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर, भुइँखेल चौर भागवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौरस्थित समाजकल्याण परिषद अगाडिको खुल्ला स्थान र सिफल चौर गौशालामा मात्र गर्न पाइने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।