सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्। जनतालाई संघीयता आफ्नै शासन भएको अनुभूति हुनेगरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिएका हुन्।
आफ्नो गृहजिल्ला कालीकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँगको भेटघाटमा जनताको काममा ढिलासुस्ती नगर्न र खटाइएको कार्यक्षेत्रमा पुगेर काम गर्न निर्देशन दिएका हुन्। स्थानीय निकायको निर्वाचनसँगै कर्मचारी र जनप्रतिनिधिबीच तालमेलको अभाव देखिएको बताउँदै मुख्यमन्त्री शाहीले कर्मचारीसँग रहेको दक्षता र जनप्रतिनिधिसँग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुक विकासको दिशामा लम्कने बताए।
कार्यालय प्रमुखहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबीचको असमझदारी लगायतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाए। विकास र समृद्धिको जनअपेक्षा पूरा गर्न प्रदेश सरकार तीव्र गतिमा अगाडि बढेको बताउँदै मुख्यमन्त्री शाहीले सरकारको गतिमा कर्मचारी प्रशासन दौड्नुपर्ने जिकिर गरे। कानुनको अभावमा देखिएका समस्या सामाधानका लागि कानुन निर्माणको कामलाई पनि गति दिन प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।