काठमाडौं- अर्थ मन्त्रालयले (निकासी-पैठारी संकेत नम्बर) एक्जिम कोड नवीकरणको समय थपिदिएको छ। व्यवसायीको मागपछि भन्सार विभागको सिफारिसमा मन्त्रालयले एक्जिम कोड नवीकरणको समय तीन महिनालाई थपिदिएको हो।
म्याद थपको सूचना राजपत्रमा प्रकाशन हुन भने बाँकी छ। राजपत्रमा सूचना प्रकाशित भएपछि नवीकरणको म्याद ३ महिना थपिने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।
केही दिनअघि सवारी साधन आयातकर्ताहरू भन्सार विभाग पुगेरै म्याद थप गरिदिन आग्रह गरेका थिए। अन्य व्यवसायीले पनि नवीकरणको समय थप गर्न आग्रह गरेसँगै ३ महिना अवधि थपिदिएको दाहालले बताए।
एक्जिम कोड नवीकरणका लागि अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र आवश्यक पर्छ। व्यवसायीले चैत ११ गतेपछि लकडाउन हुँदा करचुक्ता प्रमाणपत्र लिन नसकेको र त्यसैका कारण एक्जिम कोड नवीकरण नहुने अवस्था आउन लागेको भन्दै समय थप गरिदिन आग्रह गरेका थिए।
निर्यात तथा आयात व्यापार गर्न चाहनेले एक्जिम कोड लिनुपर्छ। लिएको एक्जिम कोड नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै नवीकरण गर्नुपर्ने व्यवस्था छ। भन्सार विभागले दिएको जानकारीअनुसार अहिलेसम्म ३० हजार एक्जिम कोड जारी भएका छन्। त्यसमध्ये १० हजार सक्रिय छन्। अहिलेसम्म यसको १५ प्रतिशत हाराहारीमा मात्रै नवीकरण भएको छ।
सरकारले २०७४ १ गतेबाट व्यापारका लागि एक्जिम कोड अनिवार्य गरेको थियो। एक्जिम कोड जारी गर्न बनाइएको कार्यविधिअनुसार ५० हजार रूपैयाँभन्दा धेरैको आयात र ५ लाख रूपैयाँभन्दा धेरैको निर्यात गर्नेले एक्जिम कोड अनिवार्य रूपमा लिनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।