काठमाडौं- देशका ६ जिल्लामा ५ सय जनाभन्दा बढी व्यक्ति कोरोनाको उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका जानकारीअनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी व्यक्तिको कोरोनाको उपचार भइरहेको छ।
बिहीबारसम्म ६ जिल्लाका भने सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लाका सबै कोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
शुक्रबार काठमाडौं उपत्यकामा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको काठमाडौंमा २८ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
उनका अनुसार विगत २४ घण्टायता नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ। हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन्।
हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।
शुक्रबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।