कपिलवस्तु- चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु २ करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेका छन्। यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ।
घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको हो। व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौँ पठाउने गरेका छन्। जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दशैंको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ।
स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीले खसीबोका ल्याई काठमाडौं लगायत देशका अन्य सहरमा पठाउने गरेका छन्। भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन्।
चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौं पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले बताए। 'माग भए बमोजिम खसीबोका पठाउन सकेका छैनौँ,' उनले भने।
लामो समयदेखि भारत उत्तर प्रदेशको बहराइच र नानपाराका भारतीय व्यापारीले काठमाडौंमा खसीबोकाको व्यापार गर्दै आएका छन्। दशैँका बेला खसीबोकाको माग धान्न गाह्रो हुने गरेको बहराइचका व्यापारी अवरास मुसलमानले बताए। यहाँबाट बाबरी, जमुनापारी र स्थानीय जातका खसीबोका काठमाडौँ पठाउने गरिएको छ।
एउटा ट्रकमा २५० देखि ३ सयसम्म खसीबोका पठाउने गरिएको उनको भनाइ छ। कृष्णनगर भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि हालसम्म करिब ८ हजार भारतीय खसीबोका नेपाल भित्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।