काठमाडौं- सरकारले शुक्रबारबाट सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
सरकारले उपत्यकाभित्रका जिल्लाहरू र अन्य जिल्लाको हकमा एक जिल्लाभित्र मात्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय गरेको हो। सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने छन्।
तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधिसमेत अपनाउनुपर्ने जनाइएको छ।
यसरी सवारी साधन चढ्ने प्रत्येक व्यक्तिले समेत सुरक्षा विधि अपनाउनुपर्ने सरकारले निर्णय गरेको छ। सबै यात्रुले मास्क प्रयोग गर्नुपर्ने, यात्रु चढ्दा ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले भाइजर लगाउनु पर्नेसमेत प्रवक्ता डा खतिवडाले जानकारी दिए। यसका साथै सवारी साधनलाई निसंक्रमित गर्नुपर्ने समेत सरकारले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।