फाइल फोटो
काठमाडौं- चिनिया राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन्।
यान्छीले बिहीबार बिहान प्रचण्डलाई भेट गरेकी प्रचण्ड निकट स्रोतले जनाएको छ। उनीहरु बीचको छलफलको विवरण भने प्राप्त हुन सकेको छैन।
पछिल्लो समय नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छिन्। उनले शीर्ष नेताहरुलाई भेटेर दबाब दिने गरेको भन्दै आलोचना भइरहेको छ।
विवाद उत्कर्षमा पुगेर नेकपा विभाजन हुने आशंका बढिरहेका बेला राजदूत यान्छीले भेटेर मिल्नको लागि दबाब दिने गरेको शीर्ष नेता निकटका नेताहरुको भनाइ छ।
यान्छीले नेकपा वरिष्ठ नेता माधव नेपाललाई गत आइतबार भेटेकी थिइन्। अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भने मंगलबार भेट गरेकी थिइन्।
यसअघि पार्टीमा विवाद बढ्दै जाँदा गत वैशाख १९ गते अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताद्वय खनाल र नेपाललाई पनि भेटेर दबाब दिएकी थिइन्। लगत्तै नेकपाको विवाद तत्कालका लागि साम्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।