चितवन- छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया सुरु भएको छ।
केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए। चिनियाँ प्रतिनिधि समेत चितवन आएकाले बिहीबार पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन भयो।
चीनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक याङ्ग चितवन आइपुगेको र केही दिनमा थप प्रतिनिधिहरु आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए।
सरकारले २०७१ सालमै चीनलाई २ जोडी गैंडा उपहार दिने निर्णय गरिसकेको छ। यहाँबाट कम उमेरका गैंडा पठाइनेछ। पहिलो चरणमा २ वटा पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण भएको बोमामा राखिने चितवन निकुञ्जले जनाएको छ। बोमामा राखेर आगामी असार महिनाभित्रमा चीन पठाउने योजना छ।
सौराहा नजिकै निकुञ्ज जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको बोमा बनाइएको छ। चितवनबाट पठाइने गैंडामध्ये एकजोडी चीनको चिमे लङ्ग सफारी पार्क र अर्को जोडीलाई सांघाई वाइल्ड एनिमल पार्कमा राखिने भएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।