काठमाडौं- नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ६ वटा व्यवसायिक फर्म र चोरी पैठारी गर्ने २ जना व्यक्तिविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ।
बुधबार विभागले ती व्यवसायिक फर्म र व्यक्तिहरुविरुद्ध ७७ करोड ४ लाख १३ हजार २२० रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो। विभागका अनुसार नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेजविरुद्ध १ करोड ७० लाख ९९ हजार ८ सय ५५ रुपैयाँ बराबर बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका महाबौद्धको समर ट्रेडर्सविरुद्ध ४ करोड ५८ लाख २ हजार २ सय ३९ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गराइएको छ। काठमाडौं महानगरपालिका-४ ठेगाना भएको जिमी ग्रुप प्रालिलाई पनि नक्कली भ्याट बिलकै कसुरमा १८ करोड ३३ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
सोही कसुर गरेको आरोपमा ललितपुर महानगरपालिका-३ स्थित न्यू क्रियसन इम्पेक्स प्रालि तथा बंगलामुखी ट्रेड एन्ड सप्लाई र काठमाडौं महानगरपालिका-२८ स्थित बिएस ट्रेड इन्टरनेसनललाई राजस्व चुहावट गरेको अभियोगमा ९ करोड २३ लाख बिगो मागसहित मुद्दा दायर गरिएको हो।
विभागले विदेशबाट मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजस्व चुहावट गरेको कसूरमा २ जना व्यक्तिविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। काठमाडौं महानगरपालिका-१५ स्थायी ठेगाना भई हाल टोखा नगरपालिकास्थित ग्रान्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकार र निकेश शाक्य उपर ४३ करोड १८ लाख ९५ हजार ४ सय १३ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।