काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘वान टू वान’ संवादले कुनै ठोस प्रगति दिन सकेको छैन। सोमबारदेखि सुरु भएको दुई अध्यक्षबीचको संवाद सौहार्दपूर्ण भएको भनिए पनि विवाद समाधानकै सूत्र पहिल्याउने अवस्थामा भने पुगिसकेको छैन।
पार्टीभित्रको विवाद अझै समाधान भई नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। ‘दुई अध्यक्ष पार्टीभित्रको विवादका विषयमा छलफलमा प्रवेश गर्नुभएको छ। छलफल जारी छ’, थापाले भने, ‘पार्टीभित्रको विवाद समाधान हुनेगरी कुनै निर्णय भएको छैन।’
यसअघि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने अडान दोहोर्याइरहेका थिए। तर, प्रचण्ड-नेपाल समूहले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा नदिए सहमति नहुने बताएका थिए। पछिल्लो समय ओली र प्रचण्डले सहमतिका लागि विभिन्न मोडलमा छलफल गरिरहेको बताइएको छ।
पार्टीमा विवाद बढ्दै गएपछि मध्यमार्गी नेताहरुले सहमतिका लागि दुई अध्यक्षलाई दबाब दिएका थिए।
यस्तै नेकपाभित्रको विवाद समाधान गर्न चिनिया राजदूतले माधव नेपाल र झलनाथ खनाललाई भेटेर सहमतिका लागि दबाब दिएकी छिन्। नेकपा विभाजन गर्न नहुने भन्दै आन्तरिक र बाह्य शक्ति लागि रहेकाले सहमतिबाटै समाधानको बाटो खुल्ने सम्भावना भने बढेको छ।
धोकाको आशंकामा माधव नेपाल
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको विपक्षमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत नेताहरु एक जुट भएका थिए।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि विभाजन नै हुने अवस्था आएपछि सहमतिका लागि सघन रुपमा छलफल सुरु गरिएको थियो। कार्यदल बनाई विवाद समाधान गर्ने निर्णय भयो। तर, कार्यदलबाट समेत विवाद समाधान हुनेभन्दा गिजोलिने भएपछि अध्यक्ष ओली र प्रचण्डले दुई दिनदेखि ‘वान टू वान’ संवाद थालेका छन्।
दुई अध्यक्ष मात्रै बसेर संवाद गर्न थालेपछि आफू एक्लिन सक्ने भन्दै नेपाल समूह झस्किन थालेको छ। प्रधानमन्त्री ओलीका विरुद्ध उचालेर प्रचण्डले आफूलाई कतै धोका त दिने होइनन् भन्ने भएपछि सो समूहमा शंका बढेको हो। यसअघि पनि पार्टीमा विवाद भएका बेला प्रचण्ड, वामदेव गौतम र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि नेपाल समूहले धोका पाएको थियो।
यसपटकको शंका पनि सोही धोकाले सिर्जना गरेको हो।
‘पार्टीमा विवाद हुँदा दुई अध्यक्षको मात्रै बैठक बस्नु हुँदैन भन्ने छैन। आवश्यकता अनुसार बैठक बस्नु पर्छ’, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने, ‘तर पार्टीभित्रको विवाद पार्टी कमिटीभित्रै छलफल गरेको भए हुन्थ्यो। त्यो सचिवालय वा स्थायी कमिटीमा छलफल गर्न सकिन्थ्यो।’
पार्टी कमिटीभित्र विवाद समाधानका लागि छलफल हुँदा व्यवस्थित प्रणालीको विकास हुने पाण्डेको तर्क छ।
चिनिया राजदूतको अनावश्यक चासो
नेकपा पार्टीभित्रको विवादमा चिनिया राजदूत होउ यान्छीको सक्रियतालाई अनावश्यक चासोको रुपमा औंल्याएको छ। नेकपा नेताहरुलाई भेटेर चिनिया राजदूतले एकताका लागि दबाब दिन थालेपछि सत्तारुढ पार्टीकै नेताहरुले विरोध गर्न थालेका छन्।
विवादकै बीच नेकपा नेताहरुलाई भेट्न थालेपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार सामाजिक सञ्चालमा लेख्दै नेपाल एक सार्वभौम मुलुक भएकाले आफ्नो निर्णय आफैं गर्न सक्षम भएको भन्दै विदेशी हस्तक्षेप मान्य नहुने भन्दै आपत्ति जनाए।
पार्टीको आन्तरिक जीवनमा विवाद चर्किएका बेला तीव्र बनाउँदै गएको भेटवार्ताले चिनिया राजदूत विवादमा तानिएकी छिन्। विवादको बेला चिनिया राजदूतले शीर्ष नेताहरुलाई भेट्दा राम्रो सन्देश नगएको स्थायी कमिटी सदस्य पाण्डेले बताए। ‘हाम्रो पार्टीभित्रको विवाद हामी आफैंले मिलाउने हो। चिनिया राजदूतले मिलाइदिने होइन’, पाण्डेले भने, ‘यति नै बेला चिनिया राजदूतले नभेटेको भए हुन्थ्यो। भेट्ने समय ठीक भएन।’
नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि चिनिया राजदूतले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालाई भेटेकी थिइन् भने सोमबार अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी थिइन्।
यसअघि वैशाख १९ गते नेकपामा विवाद उत्कर्षमा पुगेका बेला चिनिया राजदूतले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल लगायत नेताहरुलाई भेटेकी थिइन्। त्यतिबेला पनि राजदूतले नेकपा नेताहरुलाई भेट्दा विवादमा तोनिएकी थिइन्।
स्थायी कमिटी बैठक फेरि स्थगित हुन सक्ने
पार्टी भित्रको विवाद यथावत भएकाले बुधबारका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित हुने सम्भावना देखिएको छ। दुई अध्यक्षबीच संवाद जारी भएकाले बुधबारको स्थायी कमिटी बैठक सर्न सक्ने एक स्थायी कमिटी सदस्यले बताए।
‘मंगलबार दुई अध्यक्षले सहमति गरेर बाहिर ल्याइसकेको भए बुधबारको बैठक बस्ने सम्भावना हुन्थ्यो,' ती स्थायी कमिटी सदस्यले भने, ‘बुधबार फेरि दुई अध्यक्ष बैठक बसेर सहमति गर्ने भनेपछि स्थायी कमिटी बैठक सर्ने सम्भावना बलियो देखियो।’
यसअघि स्थायी कमिटी बैठक दुई पटक स्थगित भइसकेको छ। नेकपाको पाँचौं स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।