काठमाडौं- समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकले उनलाई दुवै पदबाट हटाउने निर्णय लिएको हो।
‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको निर्णय: सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने । संसदलाई जानकारी दिने’, पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले ट्विटमा लेखेका छन्।
गत जेठमा भएको संविधान संशोधनका बेला उनले पार्टी निर्णय विपरित संशोधन प्रस्ताव राखेकी थिइन्। साथै मतदानका बेला प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी थिइन्।
सो सम्बन्धमा उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।
सो विषयमा छानबिन गर्नको लागि पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।