काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काेराेना भाइरसले पारेकाे असरलाई मध्यनजर गर्दै वैदेशिक रोजगार व्यावसायीहरुको इजाजत पत्र सरल ढंगबाट नवीकरण गर्ने व्यवस्था अविलम्ब गर्न सरकारसँग माग गरेकाे छ। राप्रपाले मंगलबार विज्ञप्ति निकालेर विभिन्न अव्यवहारिक प्रावधानका कारणले समस्यामा परेका वैदेशिक रोजगार व्यवसायीहरुलाई नगद धरौटी केही समयको लागि फिर्ता गरी व्यवसायलाई पुर्नजीवन प्रदान गर्न पनि माग गरेकाे छ।
'महामारीकै कारण वैदेशिक रोजगार व्यवसायीले वार्षिक १०० (सय) जना कामदार पठाउनु पर्ने जस्ता वाध्यात्मक परिबन्ध र कोरोना माहामारीको अवस्थाले गर्दा १०० (सय) जना कामदार पठाउन नसकेका (५००) पाँच सय भन्दा बढी वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था देखिन्छ,' विज्ञप्तमा भनिएकाे छ, 'तसर्थ वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगार व्यावसायीहरुको इजाजत पत्र सरल ढंगबाट नवीकरण गर्ने व्यवस्था अविलम्ब गर्नका लागि नेपाल सरकारसँग माग गर्दछ।'
नेपालमा भएका उद्योग, व्यापार, व्यवसायलाई सहयोग र संरक्षण गर्नु नेपाल सरकारको दायित्व भएकाे राप्रपाले जनाएकाे छ। 'अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण व्यवसाय र समाजमा नराम्रो असर परिरहेको अवस्थामा नेपालमा भएका उद्योग, व्यापार, व्यवसायलाई सहयोग र संरक्षण गर्नु नेपाल सरकारको दायित्व हो,' विज्ञप्तिमा भनिएकाे छ, 'यो महामारीको कारणले गर्दा वैदेशिक रोजगार व्यवसायमा पनि गम्भीर असर पर्न गएको तर्फ पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।'
साथै राप्रपाले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका हाल नेपाल फर्कन चाहने नेपालीहरुलाई सहज तरिकाले स्वदेश फर्किने वातावरण बनाउन समेत सरकारसँग माग गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।