काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ। नेकपाका नेताहरुसँग एकपछि अर्को भेट गर्दै उनले नेकपाको भविष्यबारे चिन्ता प्रकट गरेकी छन्। यान्छीले हरेक भेटमा नेकपा नेताहरुलाई एकै सन्देश दिने गरेकी छन्।
आइतबार नेकपा नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेकी यान्छीले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेट गरेकी हुन्।
स्रोतका अनुसार खनाललाई भेट्न राजदूत यान्छी उनको डल्लुस्थित निवास पुगेकी थिइन्। दुवैबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको थियो। उनीहरुको भेट नेकपाभित्र देखिएको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको खनालनिकट स्रोतले जनाएको छ।
१० असारबाट नेकपाको स्थायी कमिटीको बैठक जारी छ। बैठक भोलि बुधबारका लागि बोलाइएको छ। त्यसअघि यान्छीले देखाएको सक्रियताले नेकपा विभाजन नहुनेतर्फ गएको अनुमान गरिएको छ।
स्थायी कमिटी बैठकमा पार्टी र सरकारको उचित नेतृत्व गर्न नसकेको आरोपसहित अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुवै पद छाड्न दबाव दिइएको छ। तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि नेकपा फुटको संघारमा पुगेको चर्चाबीच राजदूत यान्छीले नेकपाको भविष्यका विषयमा चासो राख्दै वरिष्ठ नेताहरुसँगको भेट तीव्र पारेकी छन्।
‘पार्टीका हिसाबमा नेकपा एक रहोस् भन्ने शुभेच्छा प्रकट गर्न राजदूत वरिष्ठ नेताहरुलाई भेट्न जानुभएको हो,’ स्रोतले भन्यो, ‘कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हाम्रो नीति हो, ओली सरकारलाई गिराउने या टिकाउने विषयमा दूतावास सक्रिय छैन।’
राजदूतसँग भएको भेटका विषयमा नेपाल र खनालसँगको निकटका नेताहरुले पुष्टि गरे पनि दूतावासका तर्फबाट यस विषयमा कुनै औपचारिक जानकारी भने आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।