काठमाडौं- सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्र नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब २ करोडको भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। सोमबार अख्तियारले यादवविरुद्ध १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यादवले पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। विभागका तत्कालीन सुपरिटेन्डेन्ट ईन्जिनीयर चन्द्र नारायण यादव २०३६ मंसिर २ मा सुनसरी–मोरङ सिंचाई विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई २०४७ असार १२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति पश्चात विभिन्न कार्यालयहरुमा कार्यरत रही २०७४ फागुन १६ मा सुपरिटेन्डेट ईन्जिनियरको पदबाट अवकाश पाएका थिए।
अवकास प्राप्त गर्दासम्मको अनुसन्धानमा लिइएको जाँच अवधिमा उनले पारिश्रमिक बचत आय २७ लाख ४६ हजार ६३७, दुर्गम तथा स्थानीय भत्ताबापतका आय ३ लाख ८ हजार ४०२ रुपैयाँ, कृषि आय २६ लाख ८५ हजार ७००, कर्जा आय ३६ लाख ५६ हजार ९०० सय रुपैयाँ, कर्जा अ.ल्या. मौज्दात ८ लाख ७७ हजार १०० रुपैयाँ समेत गरी जाँच अवधिमा यादवले १ करोड २ लाख ७४ हजार ७३९ रुपैयाँ आय आर्जन गरेको देखिन्छ।
सोही जाँच अवधिमा निज चन्द्र नारायण यादवको श्रीमती राधा कुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहनेगरी जग्गा खरिदमा ३२ लाख २४ हजार २५० रुपैयाँ, घर निर्माण एवं घरमा जडित तथा रहेको फर्निसिङ, फर्निचर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल सामग्री सहितमा ९२ लाख ८३ हजार ४६४ रुपैयाँ, कर्जा चुक्ता प्रयोजनमा ३१ लख ४८ हजार २०४ रुपैयाँ, कर्जा बैंक मौज्दातमा ८ लाख ७७ हजार १०० रुपैयाँ, पुँजिगत लाभकरमा ५० हजार रुपैयाँ लगानी गरेको देखिन्छ।
छोरी आँचल यादव र छोरा आभुषण यादवसमेतलाई चिकित्सा शास्त्र अध्ययनसमेतको शैक्षिक खर्चमा ८० लाख ५९ हजार ४१६ रुपैयाँलगायत विभिन्न शिर्षकमा खर्च गरेको अख्तियारले उल्लेख गरेको छ।
साथै निज चन्द्र नारायण यादवको वैध आय १ करोड २ लाख ७४ हजार ७३९ रुपैयाँको अनुपातमा आयभन्दा बढी गरेको १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएकोले निज चन्द्र नारायण यादवले साविक भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।