काठमाडौं- पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्धको अवहेलना मुद्दामा बिहीबार सुनुवाइ सकिएको छ।
उमेरहदका कारण गत साउनमै पदावधि सकिएपछि पनि पदमा बसेको भनी न्याय परिषद्को अवकाशपत्रपछि पराजुलीले चैत १ गते राजीनामा दिएका थिए।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दामा पराजुलीलाई बयानका लागि अदालत बोलाउने वा नबोलाउने विषयमा सुनुवाइ भएको हो।
पराजुलीले सर्वोच्चको नेतृत्वमा रहेर न्यायपालिकाको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मनोज अधिकारीले फागुन १५ मा निवेदन दर्ता गराएका थिए। निवेदक अधिकारीका तर्फबाट बिहीबार अधिवक्ताद्वय ओमप्रकाश अर्याल र हरिशचन्द्र सुवेदीले बहस गरेका छन्।
अधिकारीले प्रधानन्यायाधीशको पदमै रहँदा मुद्दा प्रभावित गर्ने प्रयास गरेको भन्दै अवहेलना निवेदन पेश गरेका थिए। तर, सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गर्ने प्रमाण अपुग भएको भन्दै दरपीठ गरिदिएको थियो। पराजुली बाहिरिएसँगै उक्त मुद्दा दर्ता भएर पहिलो सुनुवाइ भएको थियो।
अदालतले बयानमा बोलाएमा न्यायपालिकाको इतिहासमा अवकाश लगत्तै अदालतको अवहेलना लाग्ने पूर्व प्रधानन्यायाधीशका रुपमा पराजुलीको नाम रहनेछ। न्यायिक इतिहासमा पहिलो पटक पदमा रहँदा सम्पादन गरेका कामका कारण प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा चल्नेछ।
अधिकारीको निवेदनमा डा गोविन्द केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्मका काम गरेर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गरिएको छ।
सुरुमा पराजुलीको कुन कार्यले अवहेलना भयो भन्ने कार्यको पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सहरजिष्ट्रार नारायण पन्थीले उक्त निवेदन दरपीठ गरेका थिए। पत्रिकामा आएका समाचारका आधारमा अवहेलना मुद्दा नलाग्ने दरपीठमा भनिएको थियो। पराजुली पदमै हुँदा केसीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई धम्की दिएको निवेदनमा उल्लेख थियो। त्यस्तै, कीर्ते नागरिकता र फरक–फरक शैक्षिक प्रमाणपत्रका आधारमा न्यायाधीश हुँदै पराजुलीले अदालतको अवहेलना गरेको जिकिर निवेदनमा गरिएको छ।
डा केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफिया भन्दै राजीनामा मागेपछि उनी विरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको थियो। त्यही मुद्दाको सुनुवाइमा ’डाक्टर केसीले माफी मागेमा वा आवेशमा आएर बोलेको हुँ भनेमा मुद्दा फिर्ता गर्ने’सम्मको प्रलोभन प्रधानन्यायाधीशले दिएको अभिव्यक्ति केसीका मुख्य वकिल सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका थिए। आफूले नमानेपछि पराजुलीले मार्नेसम्मको धम्की दिएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग्दै निवेदन समेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।