काठमाडौं- काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाइकलहरु २० थान प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ।
विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरु यातयात व्यवस्था कार्यालयमार्फत धनीहरु पहिचान गरी आइतबार पत्रकार सम्मेलनमार्फत महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले सम्बन्धित मोटरसाइकल धनीहरुलाई हस्तान्तरण गरेका हुन्। मोटरसाइकलहरु हराएको भन्ने निवेदनको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा गस्तीको क्रममा ती मोटरसाइकलहरु फेला पारेको हो।
मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले हस्तान्तरण कार्यक्रममा बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।