काठमाडौं- प्रधानमन्त्रीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भइरहेको बताएका छन्। शनिबार साँझ बालुवाटारमा गरेको मन्त्रीहरुसँगको छलफलमा उनले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउने प्रयास भइरहेको बताए।
छलफलमा उपस्थित एक मन्त्रीका अनुसार आफ्नै पार्टीका राष्ट्रपतिमाथि आफ्नै पार्टीका नेताहरुले षडयन्त्र गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले पार्टी एकताको निरन्तरतामा प्रशस्तै शंका व्यक्त गरेका थिए। उनले एकै ठाउँमा रहने सम्भावना अब न्यून भइसकेको मन्त्रीहरुलाई बताएका थिए। उनले मन्त्रीहरुलाई कुन पक्षमा लाग्ने हो, स्पष्ट हुन आग्रह गरेका छन्।
‘पार्टी विभाजन होला जस्तो छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेटघाटमा सामेल एक मन्त्रीले भने, ‘तपाईंहरु कसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्।’
उनले आफूविरुद्ध षडयन्त्र भएकोले आफूले बाइ फोर्स, बाइ स्टेप निर्णय लिनुपर्ने हुनसक्ने बताए। उनले एकदुई दिनमा आफूले फेरि बोलाउने मन्त्रीहरुलाई भनेका छन्।
'पार्टी एकता संकटमा छ। अवस्था जटिल छ। यसलाई सुझबुझका साथ मूल्यांकन गर्नू। सानोसानो कुरालाई ध्यान दिनू,' प्रधानमन्त्रीले भनेका थिए।
उनले पार्टी विभाजन भए त्यसको दोषी आफू नहुने पनि स्पष्ट पारेका छन्। ‘साथीहरुको गतिविधि तपाईंहरुले देखिरहनुभएको छ’, प्रचण्ड-नेपाल गठबन्धनतिर संकेत गर्दै उनले भने, ‘उहाँहरुको गतिविधिले पार्टीलाई विभाजनतिर लैजाँदै छ। म पार्टीलाई बचाउन अन्तिमसम्म कसरत गरिरहेको छु।’
स्थायी कमिटीको जारी बैठकमा आफ्नो राजीनामा मागिरहेको विषयलाई जोड्दै उनले त्यस्ता कुरालाई अस्वीकार गर्ने बताए। उनले आफूले दुवै पदबाट राजीनामा नदिने बताए।
प्रधानमन्त्रीले राष्ट्रिय एकता पक्षमा एक हुन आह्वानसमेत गरेका थिए।
छलफलमा अध्यादेशका विषयमा भने कुनै छलफल नभएको सहभागी अर्का मन्त्रीको दाबी छ।
यसैबीच, राष्ट्रपतिलाई महाभियोग सम्बन्धमा प्रधानमन्त्रीको ब्रिफिङ बाहिरिने बित्तिकै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका छन्। उनले आफ्नो स्वार्थका लागि राष्ट्रपतिको संस्थालाई विवादमा नतान्त आग्रह गरेका छन्।
‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय संस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं’, ट्विटरमा उनले लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।