काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएको छ।
ट्याक्सी चालक मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता बनाइएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सी चालकलाई कारबाही गर्ने गरिएको बताए। 'पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,' उनले भने, 'मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्न सक्नुहुनेछ।'
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु ३ हजारदेखि ५ हजारसम्म जरिवानासमेत गर्ने गरेको छ। सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको जानकारी दिए।
महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झन्डै चार हजार ट्याक्सी चालकलाई कारबाही गरिसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।