काठमाडौं- नेपालका ८ जिल्लामा प्रतिजिल्ला कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ। प्रदेश २ का तीन जिल्ला, प्रदेश ५ का तीन जिल्ला र कर्णालीको १ जिल्ला र सुदूरपश्चिम प्रदेशको एक जिल्ला गरी ८ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी कोरोना संक्रमित पाइएको पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहटमा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन्। प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङमा पनि प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन्।
यस्तै कर्णालीको दैलेख र सुदूरपश्चिमको कैलालीमा समेत प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित पाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
विगत २४ घण्टायता नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको छ।
हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।