काठमाडौं- बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा उठ्ने विषयको आँकलन ओलीलाई थियो। आफ्नो राजीनामा माग्ने तयारी बुझेरै उनले असार १४ गते प्रत्युत्पादक र विवादित अभिव्यक्ति दिए- भारतको सहयोगमा यहाँका शक्तिहरुले आफूलाई हटाउन खोजेका छन्।
यसअघि सफल प्रयोग भएको राष्ट्रवादको सूत्र यसपटक आफैं फस्ने धराप साबित भयो। पार्टीभित्रकै नेताहरुलाई भारतीय षडयन्त्रको गोटी करार गर्ने र आफूप्रति सहानुभूति प्राप्त गर्ने अपेक्षा सफल भएन। परिणामतः वैशाखदेखि अनेक बहानाले टार्दै आएको यो बैठक उनलाई ‘सर्पले टोक्छ भनेर भागेको अजिंगरको मुखमा परियो’ भनेजस्तो भएको छ।
निश्चय पनि, पछिल्लो सत्तायात्राको साढे दुई वर्षपछि ओली गम्भीर राजनीतिक संकटमा फसेका छन्। सत्ता सञ्चालनका क्रममा अनेक आलोचनाबाट गुज्रिरहेका उनी पार्टीभित्रको शक्ति संघर्षको चपेटामा परेका छन्।
पार्टीमा अहिले उठिरहेको मुख्य विषय प्रधानमन्त्री तथा पार्टी अध्यक्षका रुपमा ओलीको राजीनामा हो। त्यसमा पार्टीका प्रभावशाली नेताहरु एक ठाउँमा भएकाले पनि त्यो माग बलियो बनेको छ। समूहगत भेटघाटको आधारमा हेर्दा पनि उनीहरु आफ्नो मागमा कठोर देखिन्छन्। ओलीलाई सजाय दिने सही समय यही हो भन्ने बुझाईमा उनीहरु देखिन्छन्।
यसको निकास कसरी निस्केला भन्ने त गर्भकै विषय छ। तर, उनले आफ्नो सीमित विकल्पहरुको सम्भाव्य खेस्रा कोरिरहेको बुझिन्छ।
बैठकमा उठिरहेका विषय र ओलीको स्वभावलाई दाँजियो भने ओलीले अपनाउने उपायको केही चित्र निकाल्न सकिन्छ। ओली पार्टीको आन्तरिक संघर्षमा झुक्ने नेता होइनन्। आफूलाई घाटा हुने गरी लत्रेर उनले कदम उठाएका इतिहास छैन। कोठामा थुनेको बिरालोले विकल्प नदेखेपछि चिथोर्छ भन्नेजस्तो स्वभाव उनीसँग मिल्छ। बरु अप्रिय होस्, प्रतिकार गर्नु उनको स्वभाव हो।
यसअघि पार्टीभित्रको शक्ति संघर्ष र लडाईंमा प्रतिक्रिया मात्रै जनाइरहेका उनले बिहीबारबाट आफूसँग उपलब्ध थप विकल्पको प्रयोग गर्न थालेको देखिन्छ। आफ्नै निवास बालुटारमा जारी स्थायी कमिटी बैठकमा सहभागिता नजनाएर ओलीले आफ्नो रणनीतिको सामान्य झलक दिएका छन्। अब उनले पार्टीमा उठेका विषयलाई महत्त्व नदिने बरु परिआए प्रतिकार गर्ने उपाय अपनाउन खोजेको संकेत मिल्छ।
बैठकमा सहभागिता नजनाएर उनले पार्टीभित्रको फरक मतलाई बेवास्ता गरिदिएका छन्। पछिल्ला दिनमा पार्टीको स्थायी कमिटी बैठकमा उनको राजीनामाको विषय उठिरहेको छ। राजीनामा माग्दा लगाइएको आरोप र प्रयोग गरिएको भाषाप्रति उनी र निकटका नेताहरुको चित्त दुखाई छ। अपमान गरिएको उनीहरुको बुझाई छ। अरुलाई तीखा र अपमानजनक आलोचना गर्ने ओलीको स्वभाव भए पनि आफैंमाथिको सोही शैलीको आलोचनाचाहिँ उनी रुचाउँदैनन्।
उसै पनि बैठकमा बस्ने र अरुको कुरा सुन्ने रुची नभएका ओलीलाई एकपछि अर्को सदस्यले राजीनामा मागेकोमा चित्त बुझ्ने कुरै थिएन। त्यसैले पार्टीको बढ्दो दबाबको प्रतिवाद र बचाउ गर्ने होइन, बेवास्ता गर्ने तिर अघि बढ्न खोजेको देखिन्छ। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ उखान चरितार्थ गर्ने उनको उपाय हुनसक्छ।
अर्कोतिर, पछिल्ला दिनमा उनले राष्ट्रपतिसँगको भेटवार्तालाई बाक्लो बनाएका छन्। बिहीबारकै स्थायी कमिटी बैठक सुरु हुनुअघि राष्ट्रपति भेट्न शीतलनिवास गए। फर्केर आएपछि पनि बैठक स्थल छिरेनन् बरु मन्त्रिपरिषद्को बैठक बसाए। र, अनपेक्षित निर्णय गराए- संघीय संसदको चालु अधिवेशन अन्त्य। अब उनलाई आफू अनुकूल अध्यादेश ल्याउन सहज भएको छ।
राष्ट्रपतिसँग निकटको सम्बन्ध भएका ओलीले एकसाथ दुई त्रास देखाउन सफल भए। पहिलो, उनले राष्ट्रपतिको सहयोग लिएर अप्रिय कदम चाल्न सक्छन्। संकटकालदेखि आफू अनुकूल अध्यादेशसम्मको कदम यस अन्तर्गत पर्छन्। दोस्रो, अहिलेको समयमा राष्ट्रपति प्रधानमन्त्रीका अनुकूल छिन्। प्रधानमन्त्रीले चाल्ने कदममा राष्ट्रपतिले भरपूर साथ रहन्छ।
संसद विघटनको खास प्रक्षेपण हुन सकेको छैन। तर, ओलीले कुनै खाले अध्यादेश ल्याएर पार्टीमा आफ्नो विरोधी समूहलाई पार्टी विभाजनको त्रास देखाएर रक्षात्मक बनाउन सक्छन्। किनकि, अहिले नेकपापंक्तिमा फैलिएको सबैभन्दा ठूलो त्रास नै पार्टी विभाजनका सम्बन्धमा छ।
बिहीबार स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित बैठकले पुन: पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गरेर अगाडि बढ्नका लागि आपसी छलफल गर्न पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको छ’ भनेका थिए। उनको सार्वजनिक प्रतिक्रियाले पनि पार्टीभित्रको त्रासलाई संकेत गर्छ।
दबाब बढ्दै गए ओलीले संसदीय दलको सामना गर्न पनि सक्छन्। तर, त्यसको लागि नजिता आफ्नो पक्षमा आउने सर्तमा मात्रै। यसअघि दुवै पक्षले यसबारे सोचेर पनि पछि हटेको विकल्प हो, यो। तर, प्रधानमन्त्री भएका कारण व्यक्तिगत तबजिबीमा कैयौंलाई अवसर दिनसक्ने भएकाले प्रधानमन्त्रीले आफ्नो तर्फबाट अनेक वैध र अवैध रणनीति अख्तियार गरेर संसदीय दललाई आफू अनुकूल बनाउने र विरोधीलाई चुप लगाउने प्रयास गर्न सक्छन्।
ओलीसँग केही पुराना सूत्र पनि छन्। मुख्यतः विपक्षी गठबन्धन टुक्र्याउने। त्यसका लागि प्रचण्डको गुनासो सम्बोधन गर्ने। गत मंसिर ४ गतेको सचिवालयको निर्णयलाई थप व्याख्या गर्दै प्रचण्डको अधिकारलाई अझ स्पष्ट बनाउने र अन्य सानातिना गुनासालाई सम्बोधन गर्ने। जुन उनका निम्ति कठिन विषय होइन। यसैगरी, माधव नेपाललगायतका नेताहरुको गुनासो सम्बोधन गर्ने। ‘पावर सेयरिङ’को विषयलाई थप व्याख्या र अवसर सहित सम्बोधन गर्ने। तत्काललाई टार्ने भन्दा पनि कार्यान्वयन सुनिश्चित भयो भने यस्ता सूत्रले काम गर्न सक्छन्। तर, ओलीले कति विश्वास दिलाउन सक्छन् र चित्त बुझाउन सक्छन् भन्नेचाहिँ प्रतीक्षाको विषय छ।
मुख्यतः नेकपाभित्रको संकट राजनीतिक र शक्ति संघर्षको उत्पादन हो। यसको समाधान पनि यही कुरालाई सम्बोधन गरेर हुन सक्छ। तर, प्रधानमन्त्रीको रुपमा ओलीले आफ्नो निरन्तरता खोज्नु भने अनौठो होइन।
प्रधानमन्त्रीबाट हटाउन ओलीका विरुद्ध जतिसुकै कडा संघर्ष भए पनि बलजफ्ती हटाउन सम्भव छैन। किनकि, उनी पार्टीभित्रको बलियो र प्रभावशाली नेता हुन्। दोस्रो, घाइते बाघलाई पार्टीमा राखेर नेकपाका दोस्रो नेताले सरकार चलाउन सक्दैन। विगतमा माधव नेपाल र झलनाथ खनालको सरकारकै बेला यो कुरा प्रष्ट भइसकेको छ। पार्टीको मुख्य आधार त्यही हो, नेता तिनै हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।