काठमाडाैं- सुन तस्करीकाे अभियाेगमा दुई भारतीय नागरिकविरुद्ध उच्च अदालत हेटाैंडामा मुद्दा दर्ता भएकाे छ। भारत कर्नाटक राज्य बस्ने वर्ष ४२ को अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्युल हकिमले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा ४ कराेड २२ लाख २० हजार ४ सय ७ रुपैयाँ विगो कायम गरी उच्च अदालत हेटौंडामा आइतबार मुद्दा दर्ता भएकाे हाे।
जिल्ला प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले चेकजाँचको क्रममा हेटौंडा उपमहानगरपालिकास्थित रातोमाटे चेकपोष्टमा बिल विजक लुकाई छिपाई बसमा लैजाँदै गरेको उक्त सुन बरामद गरेकाे थियाे। अनुसन्धानका क्रममा सुन भन्सार चोरी पैठारी गरी राजस्व छलेर ल्याएको देखिएको र अनुसन्धानको क्रममा रोशन भनिने लुक्मान्युल हकिम समेतको संलग्नता पुष्टि भएकाे थियाे।
प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क) र (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले विगोको दोब्बर जरिवाना र कैद सजाय माग दावी गर्दै २०७७ जेठ ११ मा उच्च सरकारी वकिलको कार्यालय हेटौंडामा मुद्दा दर्ता भएकाे हाे।
विदेशी विनिमयको कसुरमा उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।