काठमाडाैं- राष्ट्रिय मानव अधिकार आयाेगले पाटन दरबार क्षेत्रमा आमरण अनसनमा बसेहरुको जीवन रक्षाको लागि आग्रह गरेकाे छ। आयाेगले बुधबार विज्ञप्ति निकालेर स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने मागसहित अनसनरत व्यक्तिहरुको जीवन रक्षाको लागि आग्रह गरेकाे हाे।
'सुजान गुरुङ्ग, सुवानी सिजापतीलगायतका व्यक्तिहरु ६ दिनदेखि आमरण अनसनमा बसेको तथा नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चितताको लागि पहल गरी पाऊँ भनी परेको उजूरीप्रति आयोगको ध्यानाकर्षण भएको छ,' आयाेगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'अनसनरत व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।'
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट नेपाल समेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको भन्दै उनीहरु पाटन दरबार क्षेत्रमा अनसनमा बसेका हुन्।
आयोगले अनसनस्थलमा पुगी अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको जनाएकाे छ। आयाेगका अनुसार अनसनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको पाइएको छ भने अर्का एक व्यक्ति ६ दिन देखि आमरण अनसनमा रहेको पाइएको छ। रिजा राउत, पुकार बम, गम्भीरजंग कार्की र सुनिता तामाङ्ग रिले अनसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको आयाेगले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।