काठमाडौं- दल दर्ताको लागि निवेदन दिएको ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी’मा आबद्ध हुनको लागि ५ सयभन्दा बढीले हस्ताक्षर गरेका छन्।
असार १२ गते दल दर्ताका लागि दिएको निवेदनमा पाँच सयभन्दा बढीले हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनीहरु सबैको नागरिकताको फोटोकपी भने पेश नगरिएको उनले बताए। 'पछि भेरिफिकेसनका बेला बुझाए पनि हुन्छ', उनले भने।
पार्टीको घोषणापत्र, नियमावली, पार्टीको झन्डा, चिह्न बुझाइएको श्रेष्ठले बताए। आयोगले दलको कानुनी वैधानिकता हेरिरहेको उनले बताए। 'ऐन कानुन बमोजिम छ कि छैन भन्ने हेर्न बाँकी छ', उनले भने।
दल दर्ताको प्रक्रिया टुंगिन ४५ दिन लाग्छ।
पार्टीको अध्यक्षमा सन्ध्या तिवारी छिन्। जन्ममिति २०३० साल रहेकी उनको सार्वजनिक परिचय स्पष्ट छैन।
पार्टीले निर्वाचन आयोगमा दिएको निवेदनमा चुनाव चिह्न हिमालका बीच उदाउँदै गरेको सूर्य राखिएको छ।
नेकपा गठन हुनुअघि तत्कालीन नेकपाको एमालेको चुनाव चिह्न सूर्य थियो। अहिले नेकपाको पनि सोही चिह्न छ। सोही चिह्नसँग मिल्दोजुल्दो चिह्न नयाँ पार्टीको पनि देखिन्छ।
नेकपाको स्थायी कमिटीको मंगलबारको बैठकमा यो पार्टी दर्ताका लागि परेको निवेदनका विषय पनि छलफल भएको थियो। प्रचण्ड लगायतका नेताले नेकपा एमाले गठनमा ओलीको संलग्नताको आशंका गर्दै प्रष्टीकरण मागेका थिए।
तत्कालीन एमाले र माओवादी मिलेपछि नेकपा एमाले अस्तित्वमा नरहेको एक वर्ष नाघिसकेकाले सोही नामको पार्टी दर्ता गर्ने बाटो खुलेको थियो।
को-को छन् कार्यसमितिमा?
सन्ध्या तिवारी- अध्यक्ष
भगवती खड्का- उपाध्यक्ष
मनिषकुमार उपाध्याय- महासचिव
अस्मिता सुनार
दावा लामा
जयराम रावत
खगेन्द्रप्रसाद भुषाल
राधा पुरी
हिराबहादुर बोहरा
तारादेवी शाही
पवन बिष्ट
निलम पोखरेल
किरण लामिछाने
उमेश महतो
उषाकुमारी झा
प्रदीपराज गिरि
पूर्णिमा तामाङ
निश्चल बस्नेत
सञ्जिव विष्ट
विनिता कार्की
विमला बिष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।