काठमाडौं-भारतको भागलपुर तथा मोतीहारीमा रहेका र कुशीनगरबाट बाट चम्पारण जिल्लातर्फ उडिरहेका सलहको समूह बुधबार नेपाल भित्रने सक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।
सलहको उक्त समूह दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने अनुमान भारतीय अधिकारीहरुले गरेका छन् भने हावाको बहावसँगै त्यो समूह नेपाल प्रवेश गर्न सक्ने केन्द्रले जनाएको छ। ‘भारतका सीमावर्ती क्षेत्रमा रहेका सलहका झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फबाट पश्चिमतर्फ आउन सक्ने प्रबल सम्भावना भएकाले सम्पूर्ण तराई, भित्रीमधेस तथा तल्लो पहाडी क्षेत्रहरुमा सजग रहन अनुरोध छ,’ केन्द्रले बुधबार सार्वजनिक गरेको सलहको अवस्थासम्बन्धी अपडेटमा भनिएको छ।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम विश्लेषणका आधारमा नेपालमा ३–४ दिनदेखि अरेबियन सागरबाट बहने पश्चिमी÷दक्षिणपश्चिमी वायुको प्रभाव रहेकोमा हाल सतहमा पूर्वी/दक्षिणपूर्वी वायुको प्रभाव रहेको छ। आगामी तीन दिन देशभरि पूर्वी/दक्षिणपूर्वी वायुको प्रभाव रहने पूर्वानुमान भएका कारण पनि सलहका थप झुण्डहरु नेपाल आउन सक्ने केन्द्रको आँकलन छ।
सलहको आगमनको संकेत प्राप्त भएमा तत्कालै स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा जानकारी गराउने तथा कुनै स्थानबाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झुण्डको आकार लगायतका सूचनाहरु सम्बन्धित निकायलाई दिन पनि केन्द्रले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।