काठमाडौं-नेपालमा पिसीआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन्। लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका, ज्वरो तथा खोकीको लक्षण भएका र अस्पताल भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले पिसीआर गर्दै आएको छ।
तर अब वीर अस्पतालमा निश्चित रकम तिरेर पिसीआर परीक्षण गर्न पाइने भएको छ। कुनै ट्राभल हिस्ट्री नभएको तर आफूलाई शंका लागेका व्यक्तिले वीर अस्पतालमा पैसा तिरेर अर्थात् सशुल्क पिसीआर परीक्षण गर्न पाउने व्यवस्था लागू गरिएको हो।
वीर अस्पतालमा यो व्यवस्था लागू भएको दुई साता भइसकेको छ। कोरोना भएरनभएको थाहा पाउन चाहने व्यक्तिले ५५ सय रुपैयाँ तिरेर पिसीआर परीक्षण गर्न सक्ने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए।
‘कोरोना परीक्षणको दायरामा नपर्ने, ट्राभल हिस्ट्री नभएको, विदेश जाने व्यक्तिले या पिसीआर रिपोर्ट चाहिने व्यक्तिले पैसा तिरेर परीक्षण गर्न सक्छन्,’ उनले भने।
दैनिकजसो ४र५ जना व्यक्ति सशुल्क पिसीआर परीक्षण गर्न अस्पताल पुग्ने गरेको उनले जानकारी दिए। हालसम्म १ सयभन्दा बढी व्यक्तिले सशुल्क पिसीआर परीक्षण गराएको अस्पतालले जनाएको छ।
कोरोना परीक्षण हुने २३ प्रयोगशालामध्ये वीर अस्पताल पनि एक हो। सशुल्क पिसिआर परीक्षणले सर्वसाधारणलाई सहज बनाइएको डा। सेन्चुरीको भनाइ छ। उनले भने, ‘निश्चित व्यक्तिको मात्र सरकारले पिसीआर परीक्षण गर्दै आएको छ। जोखिमको घेरामा नभएका तर पिसीआर रिपोर्ट आवश्यक पर्ने व्यक्तिका लागि भने यसले सहज बनाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।