काठमाडौं-कालोपुलबाट ज्ञानेश्वर छिर्ने गल्लीको दायाँपट्टि साना टहरा छन्। त्यही टहराको एउटा कोठामा खैरो रंगको कपडामा धागोले बुट्टा हानिरहेका थिए मुहम्मद शेख हारुन । मुहम्मद मुर्तजा त्यही धागोले बनाएको बुट्टामा टल्किने टिकटिक खोपिरहेका थिए।
चैत ११ अघिसम्म यी दुवैको जीवनको लय ठिकै गतिमा थियो। शेख साहुबाट कपडा ठेक्कामा लिएर बुट्टा हान्ने काम गर्थे भने मुर्तजा महिनाको २० हजार पारिश्रमिक पाउने गरी साहुकोमै काम गर्थे। चैत ११ पछि भने यी दुवैको जीवनको लय लर्बरायो। लकडाउनपछि मुर्तजाको जागिर गयो। शेखले बुट्टा हान्ने ठेक्का पाउनै छाडे। लकडाउन लम्बिदै जाँदा कमाएर खाने यी दुवैको दैनिकी नै लथालिंग भयो।
‘तीन महिनामा भएको अलि-अलि पैसा पनि सबै सकियो। खानु त पर्यो। धन्न केही साथीहरु मनकारी थिए र सापटी पत्याए’, शेखले भने।
शेखको साथमा श्रीमती र छोराछोरी गरी ४ जना छन्। कोठाभाडा ६ हजार तिर्नुपर्छ। बत्ति र पानीको छुट्टै। ३ महिनादेखि आम्दानी शून्य भएपछि कोठा भाडा बुझाउन सकेका छैनन्। किराना पसलको बहिखाता भरिएका छन्।
‘किराना पसलमा १५ हजार पुगिसक्यो, भाडा तिर्न सकेको छैन। बत्तिको पैसा तिर्न ३ दिन ढिला हुँदा लाइन काटिदिएछन्, खोजेर पैसा दिएँ,’ शेखले भने, ‘धन्न आजसम्म साहुले कोठाभाडा मागेको छैन। नत्र सडकबास हुन्थ्यो। तर एकदिन त बुझाउनै पर्छ। कसरी बुझाउने थाहा छैन।’
मुर्तजाको पनि आर्थिक अवस्था दयनीय भइसक्यो। उनको घरमा ४ छोराछोरीसहित ६ जना बस्छन्। एउटै कोठामा बस्दै आएका उनको भाडा ७ हजार छ। ‘हाम्रो घरबेटीलाई त एकदिन पनि ढिला हुन हुँदैनथ्यो। यसपालि ३ दिन ढिला भएको थियो कराइहाले। मेरो त काम गइहाल्यो साथीहरुसँग मागेर दिएँ,’ उनले भने।
मुर्तजाका छोराछोरी टंगाल माध्यमिक विद्यालयमा पढ्दैछन्। विद्यालयले अनलाइन पढाउने भनेपछि मुर्तजालाई पीर पर्यो। घरमा जम्मा एउटा स्मार्ट फोन। छोराछोरी ३ जना। फरक-फरक समयमा पढाई हुने भएपछि भने राहत पाए। नत्र कहाँबाट ल्याउनु बाँकी २ फोन। फोनमात्र भएर पुगेन। वाइफाइ पनि चाहियो। धन्न छिमेकी सहयोगी निस्किए र महिनाको ३ सय बुझाउने गरि वाइफाइ पाए।
०००
सर्लाहीमा सेखको परिवारसँग खेती गर्ने जग्गा थिएन। गरिखाने परिवारका सदस्य उनलाई भारतको मुम्बई गए काम पाइन्छ भन्ने सुनाइएपछि उनी उतै लागे। मुम्बईमा काम पाए कपडामा बुट्टा हान्ने।
त्यहीँ खाने-बस्ने सुविधा, अनि महिनाको ५ रुपैँया खाजा खर्च। डेढ वर्ष उनी मुम्बईमै बसे। तर मन थामिएन। घर आउँआउँ लागिरह्यो। उनी फर्किए।
‘भारतमा नै बसेर काम गरेको भए पनि हुन्थ्यो तर मलाई नेपालमै काम गर्न मन लाग्यो। काम गर्न नेपाल ठिक छ नि,’ शेखले भने, ‘यहाँ दंगा हुँदैन, शान्ति छ ।’ मुर्तजा भने भारतीय नागरिक हुन्। शेखको कुरामा सहमती जनाउँदै उनले भने, ‘उता भारतमा त हिन्दू-मुसलमान दंगा भइरहन्छ। यहाँ त शान्ति छ। आफ्नो काम गर्यो, खायो, बस्यो ।’
मुम्बईमा काम सिकेर घर फर्किएका शेखलाई उनका बाआमाले सर्लाहीमै खेतिकिसानी गरेर बस्न नभनेका हैनन्। तर खेतिकिसानीले गुजारा नचल्ने, अनि हातमा सीप पनि भएकाले उनी काठमाडौँ आए। सुरुमा बागबजारको साडी शोरुममा काम गरेका थिए उनले। गर्दै गएपछि आफैं ठेक्का लिएर काम थाले ।
एउटा कपडामा बुट्टा भर्न ४ दिनसम्म लाग्छ । बुट्टा भर्दा लाग्ने कच्चा पदार्थ आफैं किन्नुपर्छ। यसो गर्दा उनलाई खर्च कटाएर एक पिसमा १५ सयदेखि २ हजारसम्म आम्दानी हुन्छ। काम राम्रै चलिरहेको थियो।
एकाएक सरकारले हिँडडुल र सबै व्यवसाय बन्द गरिदियो। के भयो राम्रोसँग मेसोसमेत पाएका थिएनन् उनले। कोरोना लागेकी युवती काठमाडौंमा भेटिएपछि लकडाउन भएको भन्ने कुरा पछिमात्र बुझे। केही दिन त होला यस्तो भनेको झण्डै तीन महिना उस्तै हुँदा उकुसमुकुस भयो उनलाई।
केही बचत थियो। त्यो भएसम्म खर्च चलाए। गोजी रित्तिएपछि साथीभाइसँग सापटी लिए। उनका साथीहरु पनि उही वर्गका न थिए। सापटीले नचलेपछि सरकारी राहत खोजे। शेखको परिवारलाई काठमाडौँको वडा नम्बर ३० ले ३ महिनामा तीन पटक गरेर २० केजी चामल २ लिटर तेल र २ केजी दाल दिएको रहेछ।
‘मेरो परिवारले महिनैपिच्छे आम्दानी गरेर खर्च गर्ने हो,’ शेखले भने, ‘साना-साना बच्चा छन् दुध खुवाउनुपर्यो, बिरामी हुन्छन् उपचार गर्नुपर्यो, सरकारले दाल चामल त दियो, तर तरकारी र दुध त किन्नै पर्यो, लकडाउनले हामीजस्ता मजदूरको उठिबास लगायो।’
०००
लकडाउन केही खुकुलो भएको छ तर उनीहरुको कामले गति लिन सकेको छैन। कहिले काम पाउने हो पत्तो छैन। त्यसमा पनि बुट्टा हान्ने काममा धेरै मिहिनेत लाग्छ। तर मिहिनेतअनुसार आम्दानी थोरै।
‘हामी श्रम गर्छौं, तर यो कामबाट बुटिक पसलवालालाई फाइदा छ,’ मुर्तजा भन्छन्, ‘हामीहरु दुवै जना अलि-अलि पैसा जोगाएर अरु नै काम गर्ने विचारमा थियौँ। अब त जोगाएको पैसा पनि सकिहाल्यो के पो गर्ने हो?’
लकडाउनपछि गरिबलाई त सरकारले हेर्ला, भोकै नमरिएला भन्ने आश रहेछ शेखको। तर उनले सोचेजस्तो भएन। राहतको नाममा झारा टार्ने काम गरेर सरकार चुप बसेको भन्दै बेस्सरी चित्त दुखेको रहेछ उनलाई।
‘लकडाउनपछि सरकारले १० अर्ब सक्यो रे। १० अर्ब भनेको त धेरै पैसा हो नि, तर न उपचार गर्छ, न गरिबलाई खान दिन्छ। त्यो पैसा कहाँ गयो होला?’, शेख भन्छन्।
लकडाउनका बेला मजदुरहरु हिँड्दै घर फर्किँदा सरकारले सहयोग नगरेकोमा समेत उनको चित्त दुखेको रहेछ। सहर बनाउन पसिना बगाउन आएका मजदुरको चुलो नबल्दा सरकार रमिता हेरेर बसेकोमा आक्रोशित देखिए उनी।
‘उनीहरु जुन सहर बनाउन आए समस्या पर्दा त्यही सहरले हेरेन। चुलो नबल्दा सरकारले हेरेन। पैतालाको छाला उप्किने गरी रुदैँ घर गए हाम्रा साथीहरु । मेरो सार्है चित्त दुख्यो। तर सरकारसँग चित्त हुँदैन रहेछ,’ शेख भन्छन्।
उनी केहीबेर मौन बसे। र भने, ‘गरिबको कुनै सरकार हुँदो रहेनछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।