फाइल तस्बिर
काठमाडौं-लकडाउनका कारण लामो समय ट्याक्सी चलाउन नपाएपछि आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
ट्याक्सी व्यवसायीहरु रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन्। अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ गतेसम्म आफ्नो माग सम्बोधन गर्न समय दिए पनि बेवास्ता गरेपछि विरोधस्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत् सरकारलाई बुझाइएको बताए।
उनले ट्याक्सी सन्चालन गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले चाबी बुझाइएको बताए। उनले अहिले ट्याक्सीमात्रै बुझाइएको तर सरकारले सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनीसमेत दिए। अध्यक्ष केसीले निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्ने जस्तो गरी सरकारले व्यवहार गरेको गुनासो गरे।
व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन्। सरकारका कारण ट्याक्सी चलाउन नपाउँदा घरमा खानेकुरा सकिएको र रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा आफूहरु पुगेको बताएका छन् । दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।
व्यवसायीहरुले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जनामात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।