पानी रहने सतहको अन्तिम हिस्साको काम गर्दै कामदार र त्रिपाल ओढाएर बालगोपालेश्वर मन्दिरको काम हुँदै।
काठमाडौं-रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालो माटो तथा इँटा ओच्छ्याउने र पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइरहेको छ। उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिएका थिए। २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओच्छ्याएको हो।
२०७७ वैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन) अगावै यो काम सक्ने लक्ष्य लिईएको भए पनि कोभिड-१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण काम प्रभावित भएको थियो ।
पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिए।
दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ। त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए। यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ ।
रानीपोखरीको पिँध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ पनि सहभागी भएका थिए।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ। यी काम सिए तुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ।
ठेक्काको पनि करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिए। बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण प्राधिकरणले गरिरहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।