काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको सरकारी निवासमा जारी रहेका बेला पार्टीका जिल्ला पदाधिकारीको सपथ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा खुवाइएको छ। नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सपथ लिएका हुन्।
अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ दिलाएका हुन्।
पार्टी कार्यालयमा लिनुपर्ने सपथ बुढाथोकीले आइतबार अध्यक्ष दाहाल निवास खुमलटारमा लिएका हुन्। ‘अहिले स्थायी कमिटी बैठक नै अर्का अध्यक्षको सरकारी निवासमा बसिरहेको छ,’ नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले भने, ‘काठमाडौं आएको मौकामा अध्यक्षकै निवासमा सपथ खुवाउँदा ठीकै हुन्छ भनेर खाएको हो। यसलाई अन्यथा लिनु हुँदैन।’
यसअघि सर्लाही जिल्लामा अध्यक्ष रेवती पन्त र सचिव डाचाराज वाग्लेको वरियता नमिलेपछि वाग्लेले सचिव पद छाडेका थिए। वाग्ले नेकपा सर्लाही जिल्ला इन्चार्ज भएपछि सचिव पद लामो समय रिक्त भएकोमा बुढाकोथीलाई ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।