काठमाडौं-नर्भिक अस्पतालमा १ सय ६८ किलोग्राम तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन्। उनले शल्यक्रियामार्फत् असार १० गते शिशुलाई जन्म दिएकी हुन्।
कलंकीकी ३१ वर्षीया मेरिना हमालले जन्म दिएको शिशुको तौल २ दशमलब ९ किलोग्राम छ। मेरिना र उनको शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
नेपालमा यति धेरै तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिएको यो पहिलोपटक भएको अस्पतालको दाबी छ। स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले उनको शल्यक्रिया गरेको थियो।
बढी तौल भएका गर्भवतीको शल्यक्रिया आफैंमा जटिल भएको शर्माको भनाइ छ। मोटोपना समस्या भए पनि मातृत्वका लागि बाधक भने नभएको उनको भनाइ छ।
मेरिनाले सुरुमा आफूलाई डर लागे पनि अहिले भने खुसी लागेको प्रतिक्रिया दिइन्। मोटापना भएका महिलाले शिशु जन्माउन सक्दैनन् भन्ने कुरा सत्य नभएको उनको भनाइ छ।
उनको यो दोस्रो सन्तान हो। उनले पहिलो सन्तान पनि शल्यक्रियामार्फत् नै जन्माएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।